इटहरी । मोरङको पथरी शनिश्चरेमा कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेले स्वर्गीय लेखक दिपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त स्रष्टा सम्मान प्रदान गरेको छ।
आज आयोजित सृजना विमर्श तथा स्रष्टा सम्मान कार्यक्रममा स्वर्गीय तिम्सिनाकी धर्मपत्नी लीला देवी निरौला ‘दुर्गा’लाई विशेष समारोहबीच सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापो र वरिष्ठ साहित्यकार मनु मञ्जिलले उहाँलाई दोसल्ला ओढाई २५ हजार रुपैयाँ नगद, स्वर्गीय तिम्सिनाको अर्धकद चित्र तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो। स्वर्गीय दिपेन्द्रराज तिम्सिनाले पथरी शनिश्चरेलाई आफ्नो कर्मथलो बनाएर एक दर्जन बढी कृति प्रकाशित गर्दै साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो।
कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष धनराज राई ‘अमिर’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुमन बरालको परिकल्पना तथा जीवन बरालको निर्देशनमा तयार गरिएको “छोरी मान्छे भएर” शीर्षकको नाटक पनि मञ्चन गरिएको थियो। सामाजिक विकृति र कुरीतिविरुद्ध सचेतना फैलाउने उद्देश्यले तयार पारिएको उक्त नाटक १० दिने कार्यशालापछि आठौँ राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रस्तुत गरिएको हो। “संस्कारका नाममा दासी होइन, समानता देऊ” भन्ने मूल सन्देश बोकेको नाटक नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले जीवन्त अभिनय सहित प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तुम्वापोले भाषा, कला र साहित्य मानव जीवनका अभिन्न अङ्ग भएकाले तिनको संरक्षण र प्रवद्र्धनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो। त्यसैगरी, साहित्यकार मनु मञ्जिलले साहित्य, कला, सङ्गीत र चित्रकलाजस्ता सिर्जनात्मक विधामा मानवीय करुणा र संवेदनशीलता झल्किनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले कविता, गीत, गजल, गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । सो अवसरमा साहित्यकार धनकुटे कान्छा, बलिभद्र कोइराला, रोहित पराई, राजेन्द्र विवश र रेखा सुवेदी लगायतले आ–आफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो।


