इटहरी । लगातार तीन दिन अस्पताल बन्द रहेपछि विरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले ओपीडी पुर्जा वितरणका लागि थप काउन्टर सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानका निमित्त उपकुलपति डा. ईन्द्र लिम्बु का अनुसार स्वास्थ्य बीमामार्फत सेवा लिने विरामीका लागि जीओडी बीचको भवनमा १२ वटा काउन्टर सञ्चालन गरिनेछ। त्यसैगरी, अन्तिम भवनमा स्वास्थ्य बीमा नभएका तथा शुल्क तिरेर पुर्जा लिने सेवाग्राहीका लागि ५ वटा काउन्टर सञ्चालनमा ल्याइनेछ । शुक्रबार, शनिबार र आइतबारको बिदापछि सोमबार अस्पताल खुल्दा विरामीको अत्यधिक चाप हुने अनुमान गरिएको छ । उपचार सेवालाई सहज र व्यवस्थित बनाउन पुर्जा काउन्टर थप गर्नुका साथै केही सेवा केन्द्रको स्थानान्तरण समेत गरिएको डा. लिम्बुले जानकारी दिनुभयो । 

सरकारको निर्णयअनुसार जेठ ८ गतेदेखि प्रतिष्ठानमा दुई दिन साप्ताहिक बिदा लागू गरिएको छ । गत साता विरामीको चाप अत्यधिक बढ्दा एकै दिन ४ हजार २ सय भन्दा बढी विरामी उपचारका लागि पुगेका थिए, जसका कारण सेवा व्यवस्थापनमा चुनौती देखिएको थियो। यस्तै, सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि बीपी प्रतिष्ठानमा उपचारका लागि आउने विरामीको संख्या अझ बढ्ने अनुमान गरिएको छ।

यही अवस्थालाई ध्यानमा राख्दै सेवा व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको प्रतिष्ठानले जनाएको छ। सोमबार मात्रै ओपीडीमा ५ हजार भन्दा बढी विरामी आउने अनुमान गरिएको छ । त्यसैगरी, प्रतिष्ठानका विभिन्न वार्डमा भर्ना भएका विरामीहरूको सहजताका लागि सम्बन्धित वार्डमै छुट्टै काउन्टर सञ्चालन गर्ने व्यवस्था मिलाइएको डा. लिम्बुले बताउनुभयो । प्रतिष्ठानले सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र व्यवस्थित बनाउन काउन्टर संख्या वृद्धि गरिएको जनाएको छ ।