सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा आमा समूहका सदस्यहरूलाई लक्षित गरी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ५ को कार्यालयमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न आमा समूहका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, वडा नं. ५ का अध्यक्ष गणेश चौधरी, स्वास्थ्य शाखाका प्रकाश पाठक र अर्जुन भट्टराई लगायत नगरपालिकाका पदाधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहजकर्ताका रूपमा लिलामणि दाहाल तथा सुन्दरपुर स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम कट्टेलले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा सहजीकरण गरेका थिए।

कार्यक्रममा तीन वटा आमा समूहका प्रतिनिधिहरू सहभागी भएका थिए। सहभागीहरूलाई सरसफाइ, पोषण, मातृ तथा शिशु स्वास्थ्य, नसर्ने रोगको रोकथाम तथा स्वस्थ जीवनशैलीका विषयमा जानकारी प्रदान गरिएको थियो।

IMG20260602132112

उपप्रमुख अकली चौधरीले आमा समूहहरू समुदायमा स्वास्थ्य सचेतना फैलाउने महत्वपूर्ण माध्यम भएको बताउँदै स्थानीय तहले महिलाको स्वास्थ्य, सशक्तीकरण र सामाजिक सहभागिता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। उहाँले स्वस्थ परिवार र स्वस्थ समाज निर्माणका लागि महिलाहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै सिकेका ज्ञान र सीपलाई समुदायसम्म पुर्‍याउन आग्रह गर्नुभयो।

वडा अध्यक्ष गणेश चौधरीले समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउन आमा समूहहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। कार्यक्रमका सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्न सहयोग पुगेको बताएका थिए।