इटहरी । विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको सरस्वती माध्यमिक विद्यालय अहिले भने विद्यार्थी बढाउँदै माध्यमिक तह सञ्चालन गर्न सफल भएको छ ।
धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारमा रहेको उक्त विद्यालय शिक्षक, अभिभावक र समुदायको सामूहिक प्रयासले माध्यमिक तह (माव्रिं) सम्म स्तरोन्नति हुन सफल भएको हो । पहाडी ग्रामीण क्षेत्रका धेरै विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । सरस्वती माध्यमिक विद्यालय बन्द हुने अवस्थामा पुगेर पनि अहिले भने माध्यमिक विद्यालय बन्न सफल भएको हो । २०४६ सालमा स्थापना भएको विद्यालय २०७६ सालसम्म आइपुग्दा विद्यार्थी घटेर १८ जनामा सीमित भयो । करिब २०५७र५८ सालसम्म ठिकै विद्यार्थी रहेको उक्त विद्यालयमा त्यसपछि भने द्वन्द्व, बसाइँसराइलगायतका कारण विद्यार्थी घट्न थाले ।
विद्यार्थी कम भएकै कारण विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा पुग्यो । जब २०७७ सालमा सोही विद्यालयका पूर्वविद्यार्थी हेमचन्द्र विश्वकर्मा प्रधानाध्यापकका रूपमा सरुवा भएर त्यहाँ आएपछि विद्यालयको कथा फेरियो । नयाँ प्रधानाध्यापक आएसँगै विद्यालय बन्द हुन नदिने अठोटसहित अभिभावक, शिक्षक र सरोकारवाला निकाय एकजुट भए । विद्यालय बन्द गर्नुको साटो विद्यार्थी बढाउँदै माध्यमिक विद्यालयका रूपमा सञ्चालन गर्ने निर्णय गर्दै भर्ना अभियान सुरु गरे । घरदैलो अभियान गरेर विद्यार्थी बढाउँदै लगे । निर्माणाधीन तमोर कोरिडोरसँगै तमोरबेँसी क्षेत्रमा रहेको यो विद्यालय बन्द भएको खण्डमा यस भेगका बालबालिकालाई ठुलो समस्या पर्ने थियो । त्यस क्षेत्रभन्दा नजिक अन्य विद्यालय थिएनन् । भैँसेटारस्थित विद्यालय पुग्न बालबालिकालाई झन्डै दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो ।
अधिकांश विद्यालय माथिल्लो भेगको डाँडामा रहेकाले एउटा मात्र सहज पहुँच भएको विद्यालय पनि बन्द हुने चिन्ताले अभिभावकलाई चिन्तित बनाएको थियो । यही चिन्ता नै अहिलेको सफलता भएको विद्यालयका पूर्वव्यवस्थापन समिति अध्यक्ष सन्तोष भण्डारी बताउनुहुन्छ । अभिभावक, शिक्षक र सरोकारवाला निकायको योजना अनुसार २०७८ सालमा कक्षा ६ सञ्चालन गरियो । अभिभावकसँग निरन्तर संवाद भयो । आफ्ना बालबालिका अन्यत्र सार्न लागेका अभिभावकसमेत एक वर्ष पर्खिने अवस्थामा पुगे ।
शिक्षक, विद्यालय हाम्रो साझा दायित्व हो भन्ने भावनाका साथ जुटे । अहिले विद्यालयमा १२० जना विद्यार्थी पुगेका छन् । विद्यालय पुनर्जागरणमा भौतिक पूर्वाधारसँगै भौगोलिक अवस्थाले पनि अहिले केही साथ दिएको छ । तमोर कोरिडोर सडक कालोपत्रेसँगै गाउँबाट बसाइँसराइ हुने व्रmम रोकियो । छिमेकी जिल्ला तेह्रथुमबाट समेत केही विद्यार्थी थपिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन भण्डारीका अनुसार अभिभावकबाट खर्च जुटाई निजी स्रोतमा शिक्षक राख्दै मावि सञ्चालन गरिएको थियो । यसै शैक्षिक सत्रदेखि विद्यालयले मावि सञ्चालनको स्वीकृति पाएको छ ।
यद्यपि शिक्षक दरबन्दी नभएकाले हाल शिक्षकको सेवा सुविधा निजी तथा दाताको सहयोगबाट व्यवस्थापन हुँदै आएको अध्यक्ष भण्डारीको भनाइ छ । अभिभावकले आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेर अहिले करिब १० लाख रुपियाँ सङ्कलन भएको छ । उक्त रकम अक्षय कोषका रूपमा राखिएको छ भने ब्याजबाट निजी स्रोतका शिक्षक राखिएको छ । सङ्घीय अनुदानबाट दुई जना शिक्षक राखिएको छ । प्रावि तहका शिक्षकले योग्यता अनुसार मावि तहसम्म पढाइरहेका छन् ।
प्रावि तहमै विद्यार्थी नपुग्ने अवस्था थियो । तमोर कोरिडोर सडकले यातायात सहज भएपछि विद्यालयले स्कुल बस सञ्चालन गरे विद्यार्थीलाई सहज हुने अझै विद्यार्थी बढ्ने सम्भावना छ । गाउँपालिकाले भौतिक संरचना निर्माण गरिदिनुका साथै स्वयंसेवक शिक्षक उपलब्ध गराएको छ । चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ ग्रामीण शिक्षा जोगाउन सकिने सम्भावनाको सन्देश विद्यालयले दिएको बताउनुहुन्छ ।


