इटहरी ।  पाँचथरको हिलिहाङ गाउँपालिकामा आयोजित दुई दिने निःशुल्क आँखा शिविरमा ५४७ जनाले आँखा जाँच तथा उपचार गराएका छन् ।

गाउँपालिका भित्रका सर्वसाधारणलाई लक्षित गर्दै हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाले गोपेटारमा आयोजना गरेको शिविरमा उक्त सङ्ख्यामा नागरिकले सेवा लिएका हुन् । जसमध्ये ३१ जनाको शल्यक्रिया गरिएको छ । १२ महिला र १९ पुरुष गरी ३१ जनामा मोतियाबिन्दुको अप्रेसन गर्नुका साथै आँखामा पलाएको मासु र ऐजेरुको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक व्यवस्थापन, स्वास्थ्य शाखाको आयोजनामा र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित दुईदिने निःशुल्क आँखा शिविर बिहीबार बिहान सम्पन्न भएको हो । ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले बताउनुभयो ।