इटहरी ।  ताप्लेजुङको थेचम्बुमा तेस्रो पाथीभरा याङवरक कोशी प्रदेशस्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ ।

पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बुमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। पाथीभरा ब्याटमिन्टन सङ्घको प्राविधिक सहयोगमा पाथीभरा याङवरक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्‍घाटन पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङले शुभारम्भ गर्नुभयो । आगामी जेठ २४ गतेसम्म जारी रहने प्रतियोगितामा ६ विधाका खेल हुने भएका छन् । प्रतियोगितामा कोशी प्रदेशस्तरीय मेन्स डबल सिनियर, भेट्रान्स मेन्स डबल, मिक्स डबल र जिल्ला स्तरीय प्रतियोगिता अन्तर्गत मेन्स डबल जुनियर, कर्मचारी र जनप्रतिनिधि डबल्सका खेलहरू हुने पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ठाकुर प्रधानले जानकारी दिनुभयो ।

त्यस्तै पाथीभरा याङवरक गाउँपालिका स्तरीय प्रतियोगिता समेत समेटिएको शाखा प्रमुख प्रधानको भनाइ छ। उहाँका अनुसार कोशी प्रदेशस्तरीय मेन्स डबल सिनियरको विजेताले ४० हजार, उपविजेताले २५ हजार र सेमिफाइनल पुग्नेहरूले ७ हजार ५ सय रुपियाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । ४५ वर्षमाथि उमेर समूहको भेट्रान्स डबल प्रतियोगिताका विजेताले ३० हजार, उपविजेताले २० हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपियाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रधानले जानकारी दिनुभयो । मिक्स डबलका विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपियाँ पुरस्कार पाउने भएका छन् । कर्मचारी र जनप्रतिनिधि डबल्सतर्फको प्रतियोगिताका विजेताले २० हजार, उपविजेताले १० हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपियाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पाथीभरा याङवरक गाउँपालिकाले जनाएको छ ।

पाथीभरा याङवरक गाउँपालिका स्तरीय प्रतियोगिताका विजेताले १० हजार र उपविजेताले ५ हजार रुपियाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताको उद्‌घाटन गर्दै पालिका अध्यक्ष सुब्बाले खेलाडी उत्पादन, खेलाडीको क्षमता विकास र प्रतिभा पहिचान तथा सम्मानका लागि यस्ता प्रतियोगिताहरू पालिकाले महत्त्वका साथ आयोजना गर्ने गरेको बताउनुभयो । विकास बहुआयामिक विषय भएको बताउँदै पालिका अध्यक्ष सुब्बाले खेलकुद स्वास्थ्य लाभका लागि मात्र नभई राष्ट्रको योगदानका लागि समेत हुने भएकाले ’स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भनिएको बताउनुभयो ।

ब्याटमिन्टन र भलिबलसहितका खेलका लागि पाथीभरा याङवरक ऊर्जा र उत्साहको क्षेत्र भएको उहाँको भनाइ थियो । पाथीभरा याङवरक गाउँपालिकाले आमन्त्रित प्रतियोगितामा विजेता भएर ल्याएको पुरस्कार राशीमा उति नै रकम थपेर खेलाडीलाई प्रोत्साहन रकम दिदैँ आएको पालिका अध्यक्ष सुब्बाले बताउनुभयो । कार्यक्रममा आफ्नो धारणा राख्दै पालिका उपाध्यक्ष रनमाया गुरुङले विकास, अनुशासन र गतिशिलता’ खेलकुदका तीन खम्बा भएको बताउँदै तीन खम्बालाई एकसाथ पालना गर्न सकेमा खेलक्षेत्र बलियो र विश्वसनीय हुने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकास र प्रवर्धनलाई पालिकाले उच्च महत्त्व दिएको जानकारी दिनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजनाथ पोखरेलले खेलकुद क्षेत्रको प्रवर्धन र उन्नयनका लागि पालिकाले दिँदै आएको महत्त्व आगामी दिनमा निरन्तर हुने विश्वास दिलाउनुभयो । कार्यक्रममा जिल्ला ब्याटमिन्टन सङ्घका अध्यक्ष सुरेश सिङ्घक, पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीसहितले आफ्नो धारणा राख्नुभयो । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा भएको प्रतियोगिताको समापन गर्दै उद्‌घाटन सभामा अध्यक्ष एवं शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रधानले पालिकाले खेलकुद क्षेत्रको प्रवर्धनमा कुनै कसुर बाँकी नराखेको र यस्ता कार्यले निरन्तरता पाउने बताउनुभयो ।