इटहरी । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ को अवसरमा धनकुटामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक विकास मन्त्रालय र धनकुटा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिका उपप्रमुख भीमादेवी खनालको अध्यक्षता, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली को प्रमुख आतिथ्यता तथा सामाजिक विकासमन्त्री रामप्रसाद मेहता, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका राज्यमन्त्री उमाकान्त गौतम को विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा धनकुटा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, दलित अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था, किशोर–किशोरी, नागरिक समाज, सुरक्षा निकाय तथा सरकारी कर्मचारीसहित १०० जना भन्दा बढीको सहभागिता रहेको थियो।

अन्तरक्रियामा नैन विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा जातीय विभेद तथा छुवाछुतको वर्तमान अवस्था, कानुनी व्यवस्था र व्यवहारिक चुनौतीका विषयमा प्रकाश पार्नुभएको थियो। कार्यपत्र प्रस्तुतिपछि सहभागीहरूले खुला छलफल गर्दै समाजमा अझै कायम रहेका विभेदका स्वरूप तथा त्यसको अन्त्यका उपायबारे धारणा राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री इन्द्रमणि पराजुलीले संविधान र कानुनले जातीय भेदभाव तथा छुवाछुतलाई अपराध घोषणा गरिसकेको भए पनि व्यवहारिक रूपमा यसको पूर्ण अन्त्य हुन नसकेको बताउनुभयो।

WhatsApp Image 2026-06-05 at 3.10.58 PM (1)

उहाँले विभेदमुक्त समाज निर्माणका लागि राज्य, स्थानीय सरकार, नागरिक समाज र आम नागरिक सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले सामाजिक न्याय र समानताको आधारमा मात्रै समृद्ध समाज निर्माण सम्भव हुने बताउनुभयो। उहाँले दलित समुदायको सशक्तीकरण, शिक्षा, रोजगारी र नेतृत्व विकासमा प्रदेश सरकारले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो।

अध्यक्षता गर्नुभएकी उपप्रमुख भीमादेवी खनालले स्थानीय तहले सामाजिक समावेशिता र समानताको पक्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै विभेदरहित समाज निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सचेतनामूलक कार्यक्रमको विस्तार तथा सामाजिक व्यवहारमा परिवर्तन ल्याउन सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।