धरान / रोटर्याक्ट क्लब अफ धरान घोपाले डेपोट माध्यमिक विद्यालय, धरानमा विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा महिनावारी सरसफाइ, लागू पदार्थ दुर्व्यसन नियन्त्रण , तथा दाँत तथा मुख स्वास्थ्य सरसफाइ सम्बन्धी सचेतना प्रदान गरिएको थियो।  

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु तथा विभिन्न स्वास्थ्य जोखिमहरूबारे जानकारी प्रदान गर्नु रहेको थियो तथा स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।कार्यक्रम बिहान ११:३० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन भएको थियो ।

लागू पदार्थ दुर्व्यसन सचेतनामा दुर्व्यसनका कारण, त्यसले पार्ने शारीरिक, मानसिक तथा सामाजिक असर, प्रारम्भिक चेतावनी संकेत तथा रोकथामका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो। साथै, लागू पदार्थसम्बन्धी विभिन्न भ्रम तथा गलत धारणाहरू हटाउँदै विद्यार्थीहरूलाई सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गरिएको थियो।

त्यसैगरी, महिनावारी सरसफाइ सम्बन्धीमा किशोरीहरूलाई महिनावारी स्वास्थ्य, स्यानिटरी प्याडको उचित प्रयोग, सुरक्षित व्यवस्थापन तथा सरसफाइका अभ्यासबारे जानकारी दिइएको थियो। कार्यक्रमले महिनावारीसँग सम्बन्धित संकोच र भ्रम हटाउन समेत सहयोग पुर्‍याएको सहभागीहरूले बताएका छन्।

दन्त तथा मुख स्वास्थ्य सम्बन्धी सत्रमा दाँतको उचित हेरचाह, नियमित सरसफाइ, स्वस्थ खानपान तथा दन्त रोगबाट बच्ने उपायहरूबारे जानकारी प्रदान गरिएको थियो।

 कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। उनीहरूले विभिन्न जिज्ञासा राख्दै कार्यक्रमलाई अन्तरक्रियात्मक र प्रभावकारी बनाएका थिए। कार्यक्रम सफल बनाउन विद्यालय प्रशासन तथा शिक्षकवर्गले महत्वपूर्ण सहयोग प्रदान गरेका थिए।

कार्यक्रममा रोटर्याक्टर सायन भण्डारी, अभिनन्दन कँडेल, प्रज्ञा प्रिया, दिव्यांका शाह, सुनिल गुप्ता, स्नेहा मण्डल तथा प्रतीक जोशीले सहयोग गरेका थिए।

यसैगरी, कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण मार्गदर्शन तथा सहयोग पुर्‍याउनुहुने रोटर्याक्टर आशिष गौरव, रोटर्याक्टर बिबश पौडेल (सेक्रेटरी इलेक्ट) तथा रोटर्याक्टर सीमा कुमारी कुशवाहाप्रति क्लबले विशेष धन्यवाद ज्ञापन गरेको छ।

रोटर्याक्ट क्लब अफ धरान घोपाले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा यस्ता प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

यस कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी जनसम्पर्क अधिकृत रोटर्याक्टर सरु राय क्षेत्रीले प्रदान गर्नुभएको हो l

IMG-20260605-WA0050