इटहरी । इटहरीमा युवाहरूको पहलमा सञ्चालन भइरहेको स्थानीय ब्रान्ड ‘झ्वट्टै’ ले खाना, फुटबल संस्कृति र रोजगारी सिर्जनालाई एकसाथ जोड्दै नयाँ पहिचान निर्माण गरिरहेको छ।
फुड डेलिभरी सेवामा मात्र सीमित नरही झ्वट्टैले रात्रीकालीन युवा संस्कृति विकास गर्ने उद्देश्यसहित आफ्नो गतिविधि विस्तार गरिरहेको जनाएको छ। झ्वट्टैमा कार्यरत महेश काफ्ले यसको उदाहरण बनेका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका–१० निवासी काफ्ले हाल झ्वट्टैको किचेन हेल्परका रूपमा कार्यरत छन्। होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका उनले रोजगारीसँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेका छन्।
काफ्लेका अनुसार झ्वट्टैमा काम गर्दै उनले व्यावसायिक सीप सिक्ने अवसर पाएका छन्। भविष्यमा यही अनुभवलाई आधार बनाएर आफ्नै व्यवसाय सञ्चालन गर्ने योजना रहेको उनले बताए। “नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वास झ्वट्टैले दिएको छ,” उनले भने। झ्वट्टैले बेलुका ४ बजेदेखि बिहान ४ बजेसम्म सेवा प्रदान गर्दै आएको छ। विशेषगरी ढिलो रातसम्म चल्ने फुटबल खेल, साथीभाइको जमघट र खानपान संस्कृतिसँग आफूलाई जोड्दै कम्पनीले “रात पर्नासाथ झ्वट्टै सम्झिने” पहिचान स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।
कम्पनीका अनुसार युवाहरूलाई एकै स्थानमा जोडेर फुटबल हेर्ने, खाना खाने र अनुभव साटासाट गर्ने वातावरण निर्माण गर्नु यसको प्रमुख उद्देश्य हो। कडा मेहनत, निरन्तरता र सिर्जनशीलतामार्फत विदेश नगई स्वदेशमै सफल व्यवसाय गर्न सकिने सन्देश युवामाझ पुर्याउने लक्ष्यसमेत झ्वट्टैले लिएको छ। यसका साथै झ्वट्टैले स्थानीय स्तरमा डेलिभरी राइडर, किचेन स्टाफ, कन्टेन्ट क्रिएटर तथा डिजिटल मिडिया सहयोगीका रूपमा युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको जनाएको छ। यसबाट युवाहरूको आम्दानी वृद्धि र सीप विकासमा समेत योगदान पुगेको कम्पनीको दाबी छ।
आगामी विश्वकप फुटबललाई लक्षित गर्दै झ्वट्टैले विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ। उक्त अभियानमार्फत फुटबल समर्थकलाई खाना, भावना, इन्फ्लुएन्सर र म्याच–नाइट गतिविधिसँग जोड्ने योजना बनाइएको कम्पनीले जनाएको छ। अन्तरक्रियात्मक कार्यक्रम र समुदायको सक्रिय सहभागितामार्फत फुटबल हेर्ने अनुभवलाई अझ मनोरञ्जनात्मक बनाउने तयारी भइरहेको छ।
झ्वट्टैका अनुसार यसको लक्ष्य केवल खाना बिक्री गर्नु मात्र नभई फुटबल रात, रात्रीकालीन जीवनशैली र युवाको ऊर्जासँग जोडिएको सशक्त ‘लाइफस्टाइल ब्रान्ड’ निर्माण गर्नु हो। स्थानीय युवालाई अवसर प्रदान गर्दै स्वदेशमै सम्भावना खोज्न प्रेरित गर्ने अभियानका रूपमा झ्वट्टै अगाडि बढिरहेको कम्पनीले जनाएको छ ।


