इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–३ प्याउलीमा सञ्चालित अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि आर्थिक सहयोग सङ्कलन अभियान प्रभावकारी बन्दै गएको छ।
धनकुटा, सङ्खुवासभा र भोजपुरको पूर्वी क्षेत्रका विद्यार्थीलाई लक्षित गरी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा स्थापित क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक संरचना सुदृढ बनाउन आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत अभिभावक घरदैलो कार्यक्रम, वैदेशिक रोजगारीमा रहेका युवा, शैक्षिक अभियन्ता, बुद्धिजीवी, शिक्षा प्रेमी तथा पूर्व विद्यार्थीहरूको स्वतःस्फूर्त सहयोगबाट हालसम्म क्याम्पस सञ्चालन कोषमा ६ लाख ३१ हजार ६ सय ७ रुपियाँ सङ्कलन भएको क्याम्पस प्रमुख गुणराज खनालले जानकारी दिनुभयो।
विगतदेखि सञ्चालनमा रहेको क्याम्पसका लागि अरुण गाउँपालिकाले वार्षिक २५ लाख रुपियाँ र श्री शारदा माध्यमिक विद्यालयले निःशुल्क भौतिक संरचना उपलब्ध गराउँदै आएको छ।हाल क्याम्पस सञ्चालनका लागि प्रदेश सरकार र विश्वविद्यालय अनुदान आयोगबाट आवश्यक आर्थिक सहयोग उपलब्ध नभएकाले अभियान सञ्चालन गर्नुपरेको प्रमुख खनालले बताउनुभयो। आफ्ना छोराछोरीले गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाउने भएकाले अभिभावक, शिक्षा प्रेमीलगायत सबैले खुसीसाथ सहयोग गरिरहेको उहाँको भनाइ छ। क्याम्पसमा हाल शिक्षा सङ्काय र व्यवस्थापन सङ्कायमा कुल ३७ जना विद्यार्थी अध्ययनरत छन्।

