धनकुटा / कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), कृषि संकाय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), पाख्रिबास, धनकुटाले आयोजना गरेको पाँचदिने " तथ्याङ्कीय विश्लेषण तथा जर्नल लेखन" विषयक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC), सानोठिमी, भक्तपुरको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम जेठ २३ देखि २७ गतेसम्म पाख्रिबासमा आयोजना गरिएको थियो।

तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मधेश कृषि विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पस तथा अनुसन्धान संस्थामा कार्यरत प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राविधिक गरी २२ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले तथ्याङ्कीय विश्लेषण, अनुसन्धान तथ्याङ्क व्यवस्थापन, वैज्ञानिक लेखन, प्रकाशन नैतिकता, जर्नल छनोट, अनुसन्धान लेख प्रकाशन प्रक्रिया तथा समीक्षकका सुझावहरूको प्रभावकारी व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका थिए ।

तालिमका प्रमुख स्रोत व्यक्तिका रूपमा डा. रोशन बाबु ओझाले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षण अवधिभर सहभागीहरूले वास्तविक अनुसन्धान तथ्याङ्क प्रयोग गरी विभिन्न तथ्याङ्कीय विश्लेषणका अभ्यासहरू सम्पन्न गरेका थिए। साथै अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन योग्य अनुसन्धान लेख तयार गर्ने प्रक्रिया सम्बन्धी विस्तृत छलफल तथा अभ्यास समेत गरिएको थियो।

तालिमले सहभागीहरूको अनुसन्धान क्षमता, तथ्याङ्कीय विश्लेषण सीप तथा वैज्ञानिक लेखन दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। सहभागीहरूले भविष्यमा यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्ने तथा थप उन्नत स्तरका तालिमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने विश्वविद्यालय अनुदान आयोग, कृषि अनुसन्धान केन्द्र पाख्रिबास, विभिन्न सहभागी क्याम्पस तथा अनुसन्धान संस्थाहरू, साथै प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबासका सम्पूर्ण शिक्षक, कर्मचारी तथा व्यवस्थापन पक्षप्रति आयोजकले आभार व्यक्त गरेको छ।

अनुसन्धानको गुणस्तर सुधार, अन्तर्राष्ट्रिय स्तरका जर्नलमा प्रकाशन वृद्धि तथा उच्च शिक्षामा अनुसन्धान संस्कृतिको प्रवर्द्धनका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको छ।