इटहरी । सुनसरी जिल्ला खेलकुद विकास समितिले १६औँ राष्ट्रपति रनिङ शिल्ड केन्द्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरेको छ। प्रदेशिक रंगशाला इटहरीमा बिहीबार आयोजित सम्मान तथा समीक्षा कार्यक्रममा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका खेलाडीहरूलाई ट्याकसुट, माला तथा अबिरसहित सम्मान गरिएको हो।
कार्यक्रमको अध्यक्षता सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बिमल पोखरेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बिप्लब घोष सहभागी हुनुभएको थियो। त्यसैगरी बोर्ड सदस्य टिकाराम पुरी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा केशव कार्की, विभिन्न खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा १६औँ राष्ट्रपति रनिङ शिल्ड केन्द्रीय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो भने दोस्रो चरणमा प्रतियोगिताको समीक्षा तथा खेलकुद विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।
सो अवसरमा वक्ताहरूले खेलाडीहरूको मेहनत र उपलब्धिको प्रशंसा गर्दै खेलकुद क्षेत्रको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो। साथै आगामी प्रतियोगिताहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्न खेलाडीहरूलाई निरन्तर अभ्यास र अनुशासनमा जोड दिन आग्रह गरिएको थियो। कार्यक्रमको सञ्चालन हरि राउतले गर्नुभएको थियो।



