उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार संरक्षण, सहभागिता, शिक्षा, स्वास्थ्य तथा सुरक्षित वातावरण सुनिश्चित गर्ने उद्देश्यले विभिन्न सूचकहरू पूरा गरेपछि वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
उर्लाबारी नगरपालिका वडा नम्बर ६ को आयोजनामा सम्पन्न घोषणा समारोह वडा अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता तथा नगर प्रमुख गंगा प्रसाद खरेलको प्रमुख अतिथ्यता रहेको थियो।

कार्यक्रममा नगर उपप्रमुख मीना कुमारी खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले तथा नगरपालिकाका विभिन्न वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, बालक्लबका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै बालमैत्री वातावरण निर्माणमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। बालश्रम अन्त्य गर्दै प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अवसर उपलब्ध गराउनु नै बालमैत्री शासनको मूल उद्देश्य रहेको उहाँहरूको भनाइ थियो।
वडा नम्बर ६ ले बालमैत्री स्थानीय शासनका विभिन्न सूचकहरू पूरा गर्नुका साथै बालश्रम न्यूनीकरण तथा नियन्त्रणका क्षेत्रमा प्रभावकारी कार्य गरेको भन्दै वडालाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त वडा घोषणा गरिएको हो।
कार्यक्रममा बालबालिकाहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने बालअधिकार, बाल संरक्षण तथा बालमैत्री शासन सम्बन्धी प्रतिबद्धता समेत व्यक्त गरेका थिए। सहभागीहरूले घोषणा मात्र नभई आगामी दिनमा समेत बालबालिकाको हितमा केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
