इटहरी । इटहरी उपमहानगरपालिका–३ स्थित खोर्सानेखापमा समुदायको पहलमा स्थापना गरिएको समुदायमा आधारीत प्रगती बाल विकास केन्द्रले वर्षौंदेखि गाउँका बालबालिकालाई प्रारम्भिक शिक्षा प्रदान गर्दै आएको छ।
सीमित स्रोत–साधनका बाबजुद स्थानीय बासिन्दाको सहयोग र समर्पणले विद्यालयलाई निरन्तर सञ्चालनमा राखेको छ। वि.सं. २०६२ सालमा खोर्सानेखापका समाजसेवी तथा स्थानीय अगुवाहरूको पहलमा पराल, काठ र बाँसको अस्थायी संरचनाबाट सुरु गरिएको उक्त विद्यालय अहिले तीन कोठे भवनमा सञ्चालन भइरहेको छ। हाल विद्यालयमा दैनिक १२ देखि ३० जनासम्म बालबालिकाले अध्ययन गरिरहेका छन्।
विद्यालयकी प्रधानाध्यापक सरिता राई स्थापना कालदेखि नै विद्यालयसँग आबद्ध रहँदै आउनुभएको छ । २०६२ सालमा नियुक्त हुनुभएकी राईले दुई दशकभन्दा बढी समय देखि बालबालिकाको शिक्षामा योगदान दिँदै आउनुभएको छ । पछिल्लो समय विद्यालयको भौतिक तथा शैक्षिक वातावरणमा केही सुधार आएको देख्दा आफू खुसी भएको उहाँले बताउनुभयो । यद्यपि, साना बाल विकास केन्द्रहरूलाई स्थानीय तथा संघीय सरकारले अपेक्षित ध्यान नदिएको उहाँको गुनासो छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय अभिभावक ओमकुमार श्रेष्ठले वडा कार्यालय स्थापना भएपछि विद्यालयको अवस्था क्रमशः सुधार हुँदै गएको बताउनुभयो । उहाँले विद्यालयको पहुँच अझ सहज बनाउन गाउँसम्म पुग्ने पक्की पुल निर्माण आवश्यक रहेको उल्लेख गर्नुभयो । स्थानीय अभिभावकहरूको सक्रिय संरक्षण र सहयोगका कारण विद्यालय आज सम्म निरन्तर सञ्चालनमा रहेको छ । समुदायको अपनत्वले विद्यालयलाई टिकाइ राख्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । खोर्सानेखाप पुग्न विगतमा तालतलैयाबाट झोलुङ्गे पुल तरेर खोला पार गर्नुपर्ने बाध्यता थियो। अहिले उक्त क्षेत्रमा सडक निर्माणको काम अघि बढे पनि सहज यातायातका लागि थप पूर्वाधार आवश्यक रहेको स्थानीयहरू बताउँछन्।
इटहरी उपमहानगरपालिका–३ ले विद्यालय परिसरमा टायल बिछ्याउने, घेराबार निर्माण गर्ने, जिप्सन जडान गर्ने तथा विभिन्न आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । स्थानीय सरकारको सहयोग सँगै समुदायको निरन्तर साथले खोर्सानेखापको यो शैक्षिक संस्था गाउँका बालबालिकाको भविष्य उज्यालो बनाउने अभियानमा जुटिरहेको छ ।


