इटहरी ।  ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरुद्धको २१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार फुङलिङ नगरपालिका–११ मा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । ज्येष्ठ नागरिक जिल्ला सङ्घ ताप्लेजुङको आयोजनामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई अल्जाइमर रोगबारे जानकारी गराइएको थियो । यस्तै ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार तथा यसको न्यूनीकरण र ज्येष्ठ नागरिकको सेवा–सुविधा तथा कर्तव्यबारे छलफल गरिएको थियो । साथै एक वृद्ध र एक वृद्धा गरी सबैभन्दा बढी उमेरका दुई जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष टामन सिग्देलले जानकारी दिनुभयो ।

कार्यक्रममा एक सयभन्दा बढी ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो । फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रमको सहआयोजक ताप्लेजुङ वृद्धाश्रम रहेको छ । योसँगै सार्वजनिक सुनुवाइ (सार्वजनिक कार्यक्रम) पनि सम्पन्न भएको छ । फुङलिङ नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमलाई नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले सहजीकरण गरेको हो । कार्यक्रममा स्थानीयवासीले फुङलिङ नगरपालिका–११ फावाखोलाको सडक स्तरोन्नतिका बारेमा गुनासो राखेका थिए ।

सडक स्तरोन्नति र कालोपत्र नहुँदा आफूहरूले हिलो र धुलोमा नै जीवन बिताउनुपरेको गुनासो उनीहरूको थियो । स्थानीयवासीको गुनासोलाई चाँडै सम्बोधन गर्ने फुङलिङ नगरपालिकाका प्रमुख (मेयर) अमिर मादेनले बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरपालिकाका उपप्रमुख (उपमेयर) भीमादेवी ओझा र ११ नम्बर वडाका वडाध्यक्ष युवराज भट्टराईले स्थानीयको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

आइतबार फुङलिङ नगरपालिका–१० फुरुम्बोमा यस्तै कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका अध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो ।