इटहरी । धनकुटाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक खण्ड ट्रयाक खोलेको करिब २६ वर्षपछि कालोपत्रेको काम सुरु भएको छ । धनकुटा नगरपालिकाको रिङरोड अवधारणाअन्तर्गत रहेको सडकको खण्ड यतिबेला कालोपत्रेको काम सुरु भएको हो ।
यहाँका स्थानीयवासीको जनश्रमदानबाट २०५७ सालमा ट्रयाक खोल्ने काम सुरु भएको थियो । ट्रयाक खोलेको करिब छब्बीस बर्षपछि बल्ल कालोपत्रेको काम सुरु भएको हो । कालोपत्रेको काम सुरु भएसँगै स्थानीय खुसी भएका छन् । विश्व बैंकको ३६ करोड रुपियाँ अनुदान सहयोगमा उक्त सडकको कालोपत्रेको काम धमाधम भइरहेको छ । धनकुटा नगरपालिका –१, स्थित हिले, चोक्रोक र भिरगाउँ हुँदै धार्मिक तथा पर्यटकीय महत्व बोकेको मधुगंगा धामसम्म सडक कालोपत्रेको काम भइरहेको हो । करिब ७।२ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे काम अहिले धमाधम भइरहेको छ ।
सुरु चरणमा बत्तिस करोड रुपियाँमा सम्झौता भएको परियोजनाको लागत थप संरचना निर्माण र प्राविधिक सुधारका कारण बढेर ३६ करोड रुपियाँ पुगेको धनकुटा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम गौतमले बताउनु भयो । उहाँका अनुसार कुल ७।२ किलोमिटर सडकमध्ये ३।३ किलोमिटर खण्डमा ढलान गरिएको छ । बाँकी ४ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्रे भइरहेको छ । निर्माण कम्पनीले आगामी असार १६ गतेभित्र काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर मौसमले साथ दिए असारको पहिलो साताभित्र कालोपत्रेको काम सक्ने लक्ष्य रहेको अधिकृत सीताराम गौतमले बताउनुभयो ।
सडक कालोपत्रे भएपछि त्यसपछि सडक सौन्दर्यकरण, नाली व्यवस्थापन र संकेत चिन्ह राख्ने काम अघि बढ्ने जनाईको छ । सडक निर्माणपछि स्थानीय करिब पाँचसय घर प्रत्यक्ष लाभान्भित हुनेछ । सडक कालेपत्रे साथै निर्माण पश्चात् स्थानीयले उत्पादन गरेका कृषिजन्य बस्तु सहज तरिकाले बजारसम्म पु¥याउन सहज हुने स्थानीय ईश्वर थापाले बताउनुभयो । सडक स्तरोन्नति नहुँदा करिब २ घण्टा हिडेर बजारसम्म पुग्नुपर्ने हुन्थ्यो । सडकको ट्रयाक खोल्न तत्कालीन भिरगाउँ गाविसका स्थानीयले करिब ९६ दिनसम्म निःशुल्क श्रमदान गरेका थिए । सो समय डोजर र बजेटको अभावबिच स्थानीयले आफ्नै बलबुतामा सडक विस्तार गरेको स्थानीय फुर्वा तामाङले बताउनुभयो । सडक कालोपत्रे हुन थालेपछि गाउँको विकासले नयाँ गति र गाउँको मोह समेत बढेको उहाँको भनाइ छ । सडक स्तरोन्नतिसँगै अब कृषि उत्पादन बजार लैजान सहज हुनेछ ।
बिरामीलाई अस्पताल पुर्याउन र विद्यार्थीलाई विद्यालय जान पनि सहज हुनेछ । चोक्रोक, भिरगाउँ, किन्ताङ र मधुगंगा क्षेत्र गाजर, मुला, आलु, हरियो तरकारी तथा दुग्ध उत्पादन क्षेत्र रहेको छ । सडक बनेपछि बजारसम्म पु¥याउन सहज हुने धनकुटा नगरपालिका–२ का वडा अध्यक्ष चन्द्रलाल तामाङले बताउनुभयो । त्यसो त धनकुटा नगरपालिकाले भिरगाउँलाई गाजर उत्पादन पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । स्थानीय कृषकहरूका अनुसार अहिले कच्ची सडकका कारण वर्षायाममा तरकारी र दुध बजारसम्म पुर्याउन समस्या हुनेगरेको छ । कालोपत्रे सडक सञ्चालनमा आएपछि कृषिउपजको बजारीकरण थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
त्यसो त धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दैगएको मधुगंगा धामसम्मको पहुँच सहज हुनेछ । जसलेगर्दा आन्तरिक पर्यटकको आगमन बढ्ने र स्थानीय होटल तथा व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुग्नेछ । दोस्रो खण्ड स्तरोन्नति तथा कालोपत्रेका लागि विश्व बैंकसमक्ष प्रस्ताव पेश गरिएको भए पनि हालसम्म स्वीकृति प्राप्त नभएको पालिकाले जनाएको छ । यसबिच नगरपालिकाले विभिन्न स्थानमा पर्खाल निर्माण, कल्भर्ट जडान, नाली व्यवस्थापन तथा माटो कटिङको काम गर्दै आएको छ ।
सडक पूर्णरूपमा सञ्चालनमा आएपछि भिरगाउँ हुँदै छथर जोरपाटी गाउँपालिकाका तेलिया, ताङ्खुवा लगायतका बस्तीमा समेत यातायात पहुँच विस्तार हुनेछ । जसलेगर्दा धनकुटा नगरपालिकाको ग्रामीण क्षेत्रलाई सदरमुकामसँग जोड्दै कृषि, पर्यटन, व्यापार तथा सेवा प्रवाहलाई थप सहज बनाउने छ ।


