इटहरी । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त्य गर्ने उद्देश्यले गाउँपालिकाले दलित सचेतना कार्यक्रमअन्तर्गत दम्पतीहरूलाई सम्मान गरेको हो ।

गाउँपालिकामा आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेका दम्पतीलाई सम्मान गरिएको दलित अधिकारकर्मी गणेश कार्की डोलीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममार्फत प्रत्येक दम्पतीलाई नगद ३ हजार रुपियाँ तथा सम्मानपत्र प्रदान गरिएको छ ।

सम्मानित हुनेहरूमा वडा १ का कविता बयलकोटी र मौसम लिम्बू, वडा नं २ का होमबहादुर दर्नाल र सिर्जना राई, वडा नं ३ का रमेश घिमिरे र सरिता नाल्बो, सुमन बराइली र सङ्गीता लिम्बू तथा हेमकुमार थापा र अस्मिता दर्नाल रहेका छन् । त्यसैगरी वडा ४ का सविन बर्देवा र सङ्गीता श्रेष्ठ, वीरकुमार कार्की डोली र सिर्जना तामाङ तथा वडा ५ का धननाथ नेपाली र साङ्गी शेर्पा, आइतवीर र अस्मिता बराइली, कृष्ण बिक र कमला लिम्बू तथा सलबहादुर नेपाली र गंगादेवी शेर्पा सम्मानित भएका छन्।

अन्तरजातीय विवाहले सामाजिक एकता, सहिष्णुता र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू ९दिपेन० ले बताउनुभयो। उहाँका अनुसार अझै पनि समाजका केही क्षेत्रमा जातीय विभेदका घटना देखिने भएकाले यस्ता सम्मान कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

गाउँपालिकाले सामाजिक रूपान्तरण र जातीय विभेद न्यूनीकरणका लागि आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा प्रोत्साहनात्मक कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पोमूले बताउनुभयो । अन्तरजातीय विवाह गर्ने दम्पतीलाई सम्मान गर्ने कार्यले सामाजिक सद्भाव अभिवृद्धि हुनुका साथै मतभेदमुक्त समाज निर्माणमा थप टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।