धनकुटा / कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) को १६औँ स्थापना दिवसको अवसरमा धनकुटाको पाख्रिबासस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM) ले विभिन्न सामाजिक, शैक्षिक तथा वातावरणीय कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा पाख्रिबास नगरपालिकाका कृषकहरूलाई लक्षित गरी एकदिने कन्ये च्याउ खेती तालिम सञ्चालन गरिएको कलेजले जनाएको छ। तालिममा आधुनिक च्याउ खेती प्रविधि, उत्पादन व्यवस्थापन तथा व्यावसायिक सम्भावनाबारे जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी, पाख्रिबास नगरपालिकाभित्रका विभिन्न विद्यालयहरूमा “नेपालको कृषि तथा कृषि शिक्षा” विषयक अन्तरक्रियात्मक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई नेपालको कृषि क्षेत्रको वर्तमान अवस्था, कृषि शिक्षाको महत्व तथा कृषि क्षेत्रमा उपलब्ध अवसरहरूबारे जानकारी गराइएको थियो। पर्यावरण संरक्षण तथा नगदेबाली प्रवर्द्धन गर्ने उद्देश्यले कलेज परिसरमा अलैंची बिरुवा रोपण कार्यक्रम समेत सम्पन्न गरिएको छ। साथै, जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारिरहेको प्रभावबारे विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यले “कृषिमा जलवायु परिवर्तनको प्रभाव” विषयक विद्यार्थी भिडियो प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौती तथा सम्भावित समाधानलाई सिर्जनात्मक भिडियोमार्फत प्रस्तुत गरेका थिए।

स्थापना दिवसका अवसरमा कलेज परिसर सरसफाइ कार्यक्रम सञ्चालन गर्नुका साथै साँझ दीप प्रज्वलन गरी विश्वविद्यालयको प्रगति र सफलताको कामना गरिएको थियो। कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपालको कृषि, वन तथा प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै यस्ता रचनात्मक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए। प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रिन्सिपल निराजन भण्डारी ले विविध सामाजिक, शैक्षिक तथा वातावरणीय गतिविधिमार्फत विश्वविद्यालयको १६औँ स्थापना दिवस उत्साहपूर्ण ढंगले सम्पन्न गरिएको जानकारी दिनुभयो।


