इटहरी । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि झापा जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिनुभयो । गतहप्ता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा मृत्यु भएपछि स्थानीयवासीले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन् । सोही घटनापश्चात् सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले जङ्गली हात्ती नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसद्मा बोल्नु भएको थियो । ‘स्पेसल टास्क फोर्स’मा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैँले गर्ने कार्ययोजना बनेको सांसद डाँगीले जानकारी दिनुभयो ।
फोर्सलाई हात्तीको प्रवेशगौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने जनाइएको छ । सो क्षेत्रमा अन्तरराष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बङ्गालबाट ३० देखि १०० वटासम्म जङ्गली हात्तीको बथान एकैपटकमा नेपाल प्रवेश गर्दै आएको छ । वन्यजन्तु आरक्ष क्षेत्र नभएकाले हात्ती नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया सहज छैन । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सङ्घीय सरकार मातहत रहेका छन् भने सशस्त्र वन रक्षक प्रदेश सरकारको मातहतमा रहन्छन् । ‘स्पेसल टास्क फोर्स’मा कति सुरक्षाकर्मी परिचालन हुने भन्ने यकिन भइसकेको छैन ।
सांसद डाँगीले ५० जना सुरक्षाकर्मी माग गरिएको बताउनुभएको छ । मेचीनगरमा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने खबरले स्थानीयवासी उत्साहित भएका छन् । मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले सर्वसाधारणको जीउधनको सुरक्षाका लागि नेपाल सरकारले सुरक्षाकर्मी परिचालन गर्ने खबर स्वागतयोग्य रहेको बताउनुभयो ।
उहाँले हात्ती नियन्त्रणका लागि प्रशिक्षण प्राप्त सुरक्षाकर्मी खटाउनुपर्ने सुझाव दिनुभएको छ । तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारी भारतीय क्षेत्रबाट हात्तीको बथान भित्रिन नदिने र स्थानीयवासीलाई ढुक्क महसुस गराउने ठोस कार्ययोजनासहित सरकार अघि बढ्नुपर्ने बताउनुहुन्छ ।


