इटहरी ।  धनकुटाका किसानले लगाएको मकै खेतीमा अमेरिकन फौजीकिराको प्रकोपले नष्ट भएपछि धनकुटाका किसान चिन्तित भएका छन् ।

पछिल्लो केही समययता मकैबालीलगायत हरियो बालीमा फौजीकिराको प्रकोप दिनानुदिन बढ्दै गएका कारण बालीमा क्षति पु(याएपछि धनकुटाका किसान चिन्तित भएका हुन् । अमेरिकी फौजीकिरा करिब सात वर्षअघि अमेरिका, अफ्रिका र भारतहुँदै नेपाल आइपुगेको पाइन्छ । नेपालको तराई र पहाड क्षेत्रको मौसम फौजीकिराका लागि उपयुक्त रहेको पाइन्छ । फौजीकिराले धनकुटामा बर्सेनि मकैबालीलगायत हरियो बालीमा असर गर्दै आएको छ । किराको आक्रमणका कारण मकै सुक्ने र ढल्ने गरेकाले समस्या भएको धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित दियालेका कृषक देवेन्द्रबहादुर निरौलाले बताउनुभयो ।

करिब १५ घरपरिवारको बसोबास रहेको यस क्षेत्रमा मकैलगायत बालीमा फौजीकिराको आक्रमणले किसान मारमा परेका छन् । उहाँ मात्रै हैन कृषक अमरबहादुर तामाङको पनि उस्तै समस्या छ । तामाङले करिब १८ रोपनी क्षेत्रफलमा मकैखेती लगाउनुभएको छ । पानी नपरेपछि फौजीकिराले मकैमा आक्रमण धेरै गर्ने गरेको किसानले बताए ।  सूर्योदयपछि सूर्यास्तसम्म लुकेर बस्ने फौजीकिराले मकैको पातमा पसेर गाबो रातारात खाने गर्छ । फौजीकिरा दिनभर सुषुप्त अवस्थामा बस्ने र रातभरि सव्रिmय हुने गरेको छ । यो किराको आव्रmमण तीव्र रूपमा फैलिएका कारण मकैका कलिला बोट सुक्न थालेका अर्का किसान नेत्रबहादुर भुजेलले बताउनुभयो ।

धनकुटाका धेरै जसो मकै खेती गरेको ठाउँमा फौजीकिराको समस्या रहेको किसानको गुनासोे छ । हरेक वर्ष यो समस्या भइरहेको भन्दै नगरपालिका र ज्ञान केन्द्रमा धाउनु परेको किसान बताउँछन् । धनकुटाको पाख्रीबासस्थित डिकुरे, गैरीगाउँ, दियाले, कटहरे, डडुवा बढी मात्रामा फौजीकिराको प्रकोप बढेको पाइन्छ । यस्तै महालक्ष्मी नगरपालिकालगायत क्षेत्रका खेतबारीमा मकैका बोट पहेँलिँदै सुक्न थालेका छन् । समग्र जिल्लाको तल्लो भूभागमा फौजीकिराको प्रकोप बढ्दै गएको पाइन्छ । मकै खान मात्र नभई वस्तुभाउलाई खुवाउने घाँससमेत सुक्न थालेको किसानले गुनासो गरेका छन् ।

स्थानीय तहले पनि आफैँ विषादी वितरण गर्दै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो । धनकुटामा १३ हजार ४७० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ तर पछिल्लो समय जङ्गली जनावर, विभिन्न रोगका किरा, बसाइँसराइका कारण मकै खेती गर्ने व्रmम निरन्तर घट्दो रहेको पाइएको छ ।