इटहरी । विश्वप्रसिद्ध योगी तथा ईशा फाउन्डेसनका संस्थापक सद्‌गुरुद्वारा विशेष रूपमा रचना गरिएको शक्तिशाली एवं निःशुल्क ध्यान एप 'मिराकल अफ माइन्ड' (Miracle of Mind) अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को विशेष अवसरमा नेपाली भाषामा उपलब्ध हुन गइरहेको छ।

ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा नेपाली भाषामा अनुवाद गरिएको यस एपको काठमाडौँको बालुवाटारस्थित T21 प्यालेसमा आयोजना हुने एक विशेष ध्यान कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिनेछ। विगत चार दशकदेखि मनुष्यको चेतनालाई माथि उठाउन रूपान्तरणकारी अभियानको नेतृत्व गर्दै आउनुभएका सद्‌गुरुले विश्वभर बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न यो एप तयार पार्नुभएको हो।

हाल विश्वभर करिब १.२ अर्ब र नेपालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को तथ्याङ्क अनुसार डिप्रेसन र चिन्तासहित करिब ३९ लाख वयस्कहरू मानसिक स्वास्थ्यको चपेटामा परेको अवस्थामा ध्यान अहिलेको मुख्य आवश्यकता बनेको छ। यस एपमा उपलब्ध ७ मिनेटको सरल ध्यानले मानिसहरूमा मानसिक शान्ति र एकाग्रता स्थापित गर्न मद्दत गर्दछ। विश्वका कम्तीमा ३ अर्ब मानिसहरूलाई आफ्नो मनको अद्भुत क्षमता पहिचान गराउने लक्ष्य राखिएको यो एप २५ फेब्रुअरी २०२५ मा सार्वजनिक भएको सुरुवाती १५ घण्टामै १० लाखभन्दा बढी डाउनलोड भई प्रविधि क्षेत्रमा चर्चामा आएको थियो, जसले सोही सङ्ख्या पुर्‍याउन ५ दिन लगाएको OpenAI को 'ChatGPT' को रेकर्डसमेत तोडेको थियो।

सार्वजनिक भएको २४ घण्टाभित्रै अमेरिका, क्यानडा, यूके, अष्ट्रेलिया र भारतसहित विश्वका २० भन्दा बढी राष्ट्रहरूमा ट्रेन्डिङमा परेको र भारतको iOS एप स्टोरको 'हेल्थ एण्ड फिट्नेस' विधामा पहिलो स्थान हासिल गर्न सफल यो एप अब नेपाली भाषामै उपलब्ध हुने भएपछि नेपाली प्रयोगकर्ताहरूले आफ्नै मातृभाषामा सद्‌गुरुको मार्गदर्शन र शक्तिशाली ध्यानको प्रत्यक्ष लाभ उठाउन सक्नेछन्।