इटहरी । मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना वृद्ध कैदीको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–६ निवासी ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान २ बजेतिर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार मोरङका प्रशासक राजन घिमिरेका अनुसार दाहाललाई अचानक चक्कर लाग्ने र सास फेर्न कठिनाइ हुने समस्या देखिएपछि शनिबार बिहान करिब ११ः३० बजे उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार भइरहँदा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको र आइतबार बिहान २ बजेतिर मृत्यु भएको घिमिरेले बताए । कारागार प्रशासनले दाहाल बिरामी परेलगत्तै परिवारका सदस्य र आफन्तलाई जानकारी गराएको थियो ।
आफन्तको उपस्थितिमै उनको उपचार गरिएको भए पनि चिकित्सकको प्रयास सफल हुन नसकेको प्रशासनले जनाएको छ । दाहाल जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी थिए । उक्त मुद्दामा उनी २०७५ साल पुस ६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए । पछि जिल्ला अदालत मोरङले उनलाई दोषी ठहर गर्दै १६ वर्ष कैद सजाय सुनाएको थियो । अदालतको फैसलाअनुसार उनी २०९१ साल पुस ६ गतेसम्म कारागारमा रहनुपर्ने थियो । तर, सजाय अवधि सकिन अझै धेरै वर्ष बाँकी रहँदै उनको मृत्यु भएको हो ।
उनले हालसम्म करिब साढे सात वर्ष जेल जीवन बिताइसकेका थिए । दाहालको शव हाल कोशी अस्पतालमा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार मोरङमा हाल १ हजार २ सय ८ जना कैदीबन्दी रहेका छन् । तीमध्ये १ हजार ९७ जना पुरुष, १ सय १० जना महिला तथा एक जना आश्रित बालिका रहेको प्रशासनले जनाएको छ ।


