इटहरी । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम ९डम्बर० को अनुमतिमा उपाध्यक्ष दुर्गा चोङबाङले गाउँसभाको १९औँ बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष चोङ्बाङद्धारा गाउँसभामा प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३३ करोड ७७ लाख ९० हजार ७४३ रुपियाँ र पूँजीगततर्फ १३ करोड ६४ लाख ३४ हजार १४० रुपियाँ विनियोजन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडालाई चालु खर्चका लागि ४ लाख रुपियाँका दरले बजेट छुट्याएको छ । यस्तै, पूँजीगततर्फ प्रत्येक वडालाई न्यूनतम ६५ लाख रुपियाँ सुनिश्चित गर्दै सूत्रमा आधारित थप रकमसहित कुल ४ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको जनाएको छ ।
“मेरिङदेनको पहिचानः समृद्धिको अभियान” भन्ने मूल नारासहित ल्याइएको बजेटले पूर्वाधार विकास, सडक विस्तार तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र मेरिङदेन–३ दोभान बजारदेखि गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने लक्ष्य अघि सारेको छ । उक्त सडकलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको छ । उपाध्यक्ष चोङ्बाङका अनुसार दोभान–गाउँपालिका सडकखण्डमा क्रमिक रूपमा बजेट विनियोजन गरी आगामी आवभित्र कालोपत्रे सम्पन्न गरिनेछ । साथै उक्त सडक सञ्जाललाई मेरिङदेन–६ नाल्बुसम्म विस्तार गर्दै कालोपत्रे गर्ने दीर्घकालीन रणनीति समेत तय गरिएको छ ।
बजेट प्रस्तुत गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष चोङ्बाङले नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा जनप्रतिनिधि, विकास साझेदार, बुद्धिजीवी, कृषक, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी, उद्यमी, श्रमिक तथा देश–विदेशमा रहेका पालिकावासीबाट प्राप्त सुझावलाई समेटिएको जानकारी दिनुभयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकाससँगै आर्थिक तथा सामाजिक क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिँदै बजेट कार्यान्वयनमा सबै सरोकारवालाको सहयोग र सहभागिताको अपेक्षा गरेको छ ।


