इटहरी। विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साधु बन्ने भन्दै मध्यरातमा परोपकार घाटको शव जलाउने स्थानमा  पूजा गर्नेहरु पक्राउ परेका हुन् ।

सोमबार राति शव जलाउने स्थानमा अश्लील गतिविधि गर्ने विराटनगर –६ का ४० वर्षीय ४४ वर्षीय सुरेन्द्रमणि मण्डल र विराटनगर ४ का ४४ वर्षीय छबिलाल घिमिरे,  सुनसरीको रामधुनी नगरपालिका– ६ का २५ वर्षीय कैलाश ढुंगाना र भोजपुरको रामप्रसाद राई गाउँपालिकाका– ६ का १८ वर्षीय मनिष काफ्ले पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

यो समूहले आइतबार राति शव जलाउने स्थानमा बसेर आगो बालेर होहल्ला गर्दै पूजा गरेको थियो । आइतबार भने ६ जनाको समूह थियो । सोमबार राति पनि सोही गतिविधि दोहोह्रयाएपछि प्रहरीले पक्राउ गरेको हो । शव जलाउनका लागि तयार पारिएको चितामा आगो बालेर आइतबार ६ जना युवाले बसेर अश्लील हर्कत गरेका थिए । स्थानीयले खिचेको भिडियोमा देखिए अनुसार, तीमध्ये दुई जना युवा पूर्ण रूपमा निर्वस्त्र छन् । निश्वरत्र र अर्धनग्न अवस्थामा रहेकाहरुले एकअर्कालाई धकेलाधकेल गर्दै अश्लील शब्द प्रयोग गरेर गालीगलौज गरिरहेका छन् ।

टाउकोमा कालो कपडाको फेटा बाँधेका उनीहरूले चितास्थलको खरानी टिपेर एकअर्काको जीउमा दल्ने र अनौठा हर्कतहरू गरिरहेको देखिन्छ । उनीहरुले चितास्थलमा माटोको घैला, पानीका बोतल, दाउरा र अन्य सामग्री राखेका थिए । घाटमा भएको यो घटना देखेपछि स्थानीयबासी त्रसित बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङमा प्रवक्ता मिश्र नसाको सुरमा बाबा बन्ने भन्दै अश्लील हर्कत गरेको देखिएपछि नियन्त्रणमा लिइएको बताए ।उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।