इटहरी । तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै १७ औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । 

गाउँपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ५२ ढोके घर, बराह मन्दिर तथा योमुइ चङखासिङ गढी परिसरमा आयोजित अधिवेशनले आगामी वर्षका लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, पशुपालन, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ।

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई केन्द्रमा राखिएको छ । आगामी वर्ष योजनाहरू छरिएर भन्दा पनि परिणाममुखी र दीर्घकालीन प्रभाव पार्ने गौरवका आयोजनामा लगानी केन्द्रित गरिने गाउँपालिकाले जनाएको छ। यसैबीच, गाउँसभाकै अवसरमा छथर–३ पञ्चकन्यामा नवनिर्मित आधुनिक वडा कार्यालय भवनको समेत औपचारिक उद्घाटन गरिएको छ ।

नयाँ भवन सञ्चालनमा आएसँगै स्थानीय नागरिकलाई प्रवाह गरिने सेवा थप सहज, छिटो र व्यवस्थित हुने अपेक्षा गरिएको छ । जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र स्थानीयको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रममा सुशासन, पारदर्शिता र दिगो विकास मार्फत समृद्ध छथर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।