इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय तथा विद्यालयका कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
बिहीबार गाउँपालिकाको सय विक्ष सदनमा आयोजित उक्त कार्यक्रममा शिशु शिक्षा विकास आधारभूत विद्यालय सिन्द्राङमा तीन दशक अध्यापन गरी अवकाश प्राप्त शिक्षक रामप्रसाद राईलाई ३४ हजार ७ सय ३० रुपैयाँ नगदसहित विशेष सम्मान गरिएको हो । गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विगत देखि प्रयास गर्दै आएको र यस वर्ष प्रोत्साहन स्वरुप सम्मानको कार्यक्रम आयोजना गरिएको पालिका अध्यक्ष प्रेमकुमार राईले बताउनु भयो ।
गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयमा कक्षा ५, ८, १० र १२ मा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक उपलब्धिका आधारमा उत्कृष्ट विद्यार्थी छनोट गरि ५ हजार देखि १७ हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट शिक्षकतर्फ जनसेवा माध्यमिक विद्यालयका डा. खगेन्द्रप्रसाद लामिछाने, सरस्वती आधारभूत विद्यालयका टंकप्रसाद पराजुली तथा पञ्चकन्या भगवती आधारभूत विद्यालयकी बालविकास सहजकर्ता हिरामाया खड्कालाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । विद्यालय सहयोगीतर्फ निर्मला आधारभूत विद्यालयकी कमला राई र शान्ती निकेतन माध्यमिक विद्यालयका तिलकबहादुर थापाले जनही १० हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गर्नुभएको छ । विद्यार्थीलाई अध्ययनमा थप प्रेरित गर्ने र शिक्षकलाई प्रभावकारी शिक्षणमा प्रोत्साहन गर्ने उद्देश्यले विगत दुईवर्ष देखि निरन्तर पालिका स्तरीय उत्कृष्ट पुरस्कार तथा सम्मान कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख डिल्लीराम आचार्यले बताउनु भयो ।
पालिकाभरिको उत्कृष्ट विद्यालयका रूपमा भानुभक्त आदर्श आधारभूत विद्यालय, हतुवागढी–६ होम्ताङलाई छनोट गरि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कार तथा सम्मान पालिका अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष सुनिता किराती, प्रमुख प्रशासकीय अधिकृत महेश निरौला, शिक्षाविद् ईश्वरमान राई र लेखा अधिकृत खेमराज भट्टराईले संयुक्त रूपमा वितरण गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

