इटहरी । लामो समयदेखि इटहरीको व्यावसायिक क्षेत्रमा सक्रिय रहेका व्यवसायी नवराज काफ्ले यसपटक उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष पदका उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। सार्वजनिक चर्चा र प्रचारभन्दा पनि काममार्फत आफूलाई स्थापित गरेका काफ्लेलाई अनुभवी व्यवसायीहरूको साझा रोजाइका रूपमा हेरिएको छ।
उद्योग वाणिज्य संघको विभिन्न कार्यकालमा जिम्मेवारी सम्हालिसकेका काफ्लेले विशेषगरी भवन निर्माण समितिको कोषाध्यक्षका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। संघको वर्तमान सुविधासम्पन्न भवन निर्माण प्रक्रियामा उनले आर्थिक व्यवस्थापन र समन्वयको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरेको भन्दै सहकर्मी व्यवसायीहरूले उनको कार्यशैलीको प्रशंसा गर्ने गरेका छन्।
शान्त स्वभाव, कम बोल्ने तर जिम्मेवारी पूरा गर्ने शैलीका कारण काफ्ले व्यवसायीमाझ विश्वासिलो व्यक्तित्वका रूपमा परिचित छन्। व्यावसायिक संस्थाका साथै विभिन्न सामाजिक संघ–संस्थामा समेत सक्रिय रहँदै उनले समुदायसँग निरन्तर सम्बन्ध विस्तार गरेका छन्।
काफ्लेको व्यावसायिक अनुभव पनि विविध क्षेत्रसँग जोडिएको छ। पारिवारिक रूपमा सञ्चालन हुँदै आएको इँटाभट्टा व्यवसायबाट यात्रा सुरु गरेका उनले होटल, कृषि तथा ट्रेडिङ क्षेत्रमा समेत लगानी र नेतृत्व गर्दै आएका छन्। यही बहुआयामिक अनुभवले साना, मझौला तथा ठूला व्यवसायीका समस्या बुझ्न र समाधानका व्यावहारिक योजना बनाउन सहयोग पुग्ने विश्वास समर्थकहरूको छ।
यसपटकको उम्मेदवारीलाई उनले व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि व्यवसायीहरूको आग्रह र आवश्यकतासँग जोडिएको बताएका छन्। उद्योग वाणिज्य संघलाई प्रविधिमैत्री बनाउने, सदस्यता तथा नवीकरण प्रक्रियालाई पूर्ण रूपमा अनलाइनमार्फत सहज बनाउने, व्यवसायी राहत कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा संघको सेवा प्रणालीलाई थप व्यवस्थित बनाउने एजेण्डासहित उनी चुनावी मैदानमा छन्।
इटहरीका अग्रज व्यवसायी तथा संघका पूर्व नेतृत्वकर्ताहरूको उल्लेखनीय साथ काफ्लेलाई प्राप्त भएको उनका समर्थकहरूको दाबी छ। उनीहरूले काफ्ले अनुभव, समन्वय क्षमता र निष्पक्ष कार्यशैलीका कारण संघको नेतृत्वका लागि उपयुक्त उम्मेदवार भएको बताएका छन्।
निर्वाचनको समीकरणमा पनि सहमतिका आधारमा बनेको काफ्ले नेतृत्वको समूह बलियो अवस्थामा रहेको दाबी गरिएको छ। अध्यक्षसहित अधिकांश पदमा साझा समूहको प्रभाव देखिएकाले आगामी कार्यसमितिले सहज रूपमा निर्णय गर्न सक्ने वातावरण बन्ने विश्वास व्यक्त गरिएको छ।
लामो समयदेखि पर्दापछाडि बसेर संघ र व्यवसायीका हितमा काम गरेका नवराज काफ्ले अब प्रत्यक्ष नेतृत्व सम्हालेर उद्योग वाणिज्य संघ इटहरीलाई थप प्रभावकारी, प्रविधिमैत्री र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा रहेका छन्।
