इटहरी — इटहरी उद्योग वाणिज्य संघको सदस्य पदकी उम्मेदवार मीना ढकाल आचार्यले साना तथा मझौला व्यवसायीको सशक्तीकरण बिना बजार चलायमान हुन नसक्ने बताएकी छन्।

आगामी असार २७ गते हुने निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीमा उनले अहिले बजार मन्दी, घट्दो कारोबार, उच्च बैंक ब्याजदर, करसम्बन्धी जटिलता र लगानीमा अनिश्चितता व्यवसायीका मुख्य समस्या रहेको उल्लेख गरिन्। यी चुनौती समाधानका लागि स्थानीय सरकार, बैंक तथा सम्बन्धित निकायसँग समन्वय गर्दै व्यवसायीमैत्री वातावरण निर्माणमा पहल गर्ने उनको प्रतिबद्धता छ।

निर्वाचित भए व्यवसायीका समस्या सुन्ने, संघलाई सबै व्यवसायीको साझा संस्था बनाउने, साना तथा मझौला व्यवसायीलाई तालिम, बजार विस्तार र डिजिटल व्यापारसँग जोड्ने कार्यलाई प्राथमिकतामा राख्ने उनले बताइन्।

आचार्यले निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कर नीति सरल र व्यवहारिक हुनुपर्ने तथा लगानीमैत्री वातावरण निर्माणमा उद्योग वाणिज्य संघले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखिन्।

उनले नियमित संवाद, पारदर्शी कार्यशैली र उत्तरदायी नेतृत्वमार्फत व्यवसायीको विश्वास कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योगी–व्यवसायीलाई नवराज काफ्ले नेतृत्वको साझा समूहलाई मतदान गर्न आग्रह गरेकी छन्।

FB_IMG_1783098745274