इटहरी । इटहरी उपमहानगरपालिका–४ ले वडाभित्रका विभिन्न टोलमा सडक पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ ।
वडाको वार्षिक विकास योजना अन्तर्गत कालोपत्रे, ग्राभेल, कल्भर्ट निर्माण, नाली व्यवस्थापन तथा सडक मर्मतका काम एकसाथ अघि बढाइएका हुन्। वडा कार्यालयले नागरिकको दैनिक आवागमन सहज बनाउने उद्देश्यका साथ आवश्यकता अनुसार विभिन्न स्थानमा सडक स्तरोन्नतिको काम गरिरहेको जनाएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई अघि बढाएका छन्। सडक कालोपत्रे, सडक बत्ती जडान, पुल तथा कल्भर्ट निर्माण, सार्वजनिक स्थल संरक्षण, मन्दिर निर्माण तथा मर्मत, सामुदायिक भवन निर्माणमा सहयोग र अन्य भौतिक पूर्वाधार विकासका कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएका छन्।
स्थानीय सरकारको सीमित स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै वडाका अधिकांश बस्तीमा विकासका काम पु¥याउने प्रयास गरिएको जनप्रतिनिधिहरूको भनाइ छ । स्थानीयवासीका अनुसार पछिल्ला वर्षहरूमा वडाभित्र सडकको पहुँच विस्तार भएसँगै वर्षायाममा हुने सास्ती समेत कम भएको छ । पहिले हिलो र धुलोका कारण आवतजावतमा समस्या हुने स्थानहरू अहिले क्रमशः स्तरोन्नति हुँदै गएको उनीहरू बताउँछन्।

विकास निर्माणका कामले स्थानीयको दैनिकी सहज बन्दै गएको भन्दै जनप्रतिनिधिहरूले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनीहरूको भनाइ छ । वडा सदस्य विश्वेश्वर शर्माले कार्यकालभरि वडाका सडकहरूको मर्मत, ग्राभेल तथा कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिइएको बताउनुभयो। बाँकी रहेका आवश्यक सडकहरूलाई समेत योजनाबद्ध रूपमा स्तरोन्नति गर्दै सबै टोलसम्म सहज पहुँच पु¥याउने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो।
वडा अध्यक्ष भक्त लामाले वडा नम्बर ४ लाई व्यवस्थित र पूर्वाधारयुक्त वडा बनाउने उद्देश्यका साथ विकास निर्माणका कामलाई निरन्तर अघि बढाइएको बताउनुभयो। सडकसँगै खानेपानी, सडक बत्ती, नाली, कल्भर्ट तथा अन्य आधारभूत पूर्वाधार निर्माणमा समेत वडाले प्राथमिकता दिएको उहाँको भनाइ छ। आगामी दिनमा पनि नागरिकको सुझाव र आवश्यकतालाई आधार बनाएर विकास निर्माणका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो। स्थानीय सरकारको पाँचवर्षे कार्यकाल अन्तिम चरणमा पुगिरहेका बेला वडा नम्बर ४ मा सञ्चालन भइरहेका विकास निर्माणका कामले स्थानीयवासीमा सकारात्मक अपेक्षा बढाएको छ। जनप्रतिनिधिहरूले सुरु गरेका योजनाहरू समयमै सम्पन्न गरी दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


