इटहरी । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आफ्नो १०१ दिनको कार्यकालमा सार्थक काम गरेको बताउनुभएको छ । आइतबार सुनसरीको इनरुवामा राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले सय दिनको कार्यकाल सफलतापूर्वक पार गरेकोमा धेरै सार्थक काम गरेको बताउनुभयो ।
उहाँले स्वास्थ्य सुधार कार्यविधि र निर्देशिका लागुदेखि सुलभ फार्मेसी सेवासम्बन्धी मापदण्ड कार्यान्वयन, निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनदेखि जलन उपचार सेवा विस्तारसम्मको काम गरेको बताउनुभयो । पार्टीका सभापति सागर दाहालसहितको उपस्थितिमा भएको छलफलमा मन्त्री मेहताले अस्पतालको सेवा सुधारका लागि ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ र ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका, २०८१’ कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले सरकारी अस्पतालमा एकद्वार प्रणालीमार्फत स्वास्थ्य बिमा र निःशुल्क औषधी वितरण गर्न मापदण्ड ल्याइएको र औषधी खरिद सम्झौता नेपाल औषधी लिमिटेडसँग सोझै औषधी खरिद गर्ने गरिएको बताउनुभयो । जनताको स्वास्थ्य सरकारको प्राथमिकतामा रहेको बताउनुहुँदै मन्त्री मेहताले निःशुल्क स्वास्थ्य पोर्टल अन्तर्गत २१७ अस्पताल आबद्ध गराई तीन हजार २५५ निःशुल्क शøयाको व्यवस्था गरिएको, राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड स्वीकृत, देशका १४ सङ्घीय अस्पतालमा जलन उपचार युनिट स्थापना गर्नुका साथै २० करोड रुपियाँको जलन उपचार कोष खडा गरिएको बताउनुभयो ।
उहाँले आपत्कालीन उद्धारका लागि ११ वटा हेलिकोप्टर कम्पनीसँग सहुलियत दरमा सेवा उपलब्ध गराउने सम्झौता, स्वास्थ्य बिमातर्फ अस्पताललाई कुल १८ अर्ब ५८ करोड ९१ लाख रुपियाँ भुक्तानी, मानसिक स्वास्थ्य सेवा प्रभावकारीसम्मको काम गरेको बताउनुभयो । पार्टीका नेता कार्यकर्ताले स्वास्थ्य बिमा निजी अस्पातलमा किन रोकिएको जिज्ञासामा मन्त्री मेहताले स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउने र सरकारी अस्पतालकै स्तरोन्नति गर्ने, उपकरण र जनशक्तिसम्मको व्यवस्थापनमा सरकारले ध्यान दिएको बताउनुभयो ।
सरकारी अस्पतालबाट मनोपरामर्श सेवा सञ्चालन मापदण्ड स्वीकृत गरी ११६६ हटलाइनमार्फत सेवा प्रवाह सुरु गरिएको, दुर्गम तथा हिमाली क्षेत्रका विभिन्न स्थानीय तहमा हाई अल्टिच्युड क्लिनिक स्थापनाका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । छलफलमा सहभागी सरस्वती लुइटेल केसीका अनुसार मन्त्री मेहताले छलफलमा मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत १५ हजार ६९० नमुनाको विषादी अवशेष परीक्षण गरिनुका साथै ७९ औँ विश्व स्वास्थ्य सभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गरेको कुरासमेत राख्नुभएको थियो ।


