धनकुटा, पाख्रिबास — कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), पाख्रिबासको आयोजनामा तेस्रो स्नातक LEE (Learning for Entrepreneurial Experience) Symposium शुक्रबार सम्पन्न भएको छ।

"Advancing Sustainable Agriculture through Experiential Learning, Research, and Entrepreneurship" भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव पशुपति ढुङ्गानाले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका पशु प्रजनन विषयका प्राध्यापक डा. निराजन भट्टराई तथा कीट विज्ञान विषयका सह-प्राध्यापक डा. मिनराज पोखरेलले आ-आफ्ना विषयमा मुख्य (Keynote) प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा CNRM पाख्रिबासका पूर्व क्याम्पस प्रमुख डा. सुर्यमणि ढुङ्गानाको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नागेन्द्रबहादुर राना, नेपाल कृषि अनुसन्धान परिषद् (NARC) का वैज्ञानिकहरू, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

यस वर्षको Symposium मा CNRM पाख्रिबासका २०७७/७८ ब्याचका ४५ जना तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पूर्वाञ्चल कृषि क्याम्पस, गौरादह (झापा) का १७ जना गरी कुल ६२ जना स्नातक तहका विद्यार्थीहरूले कृषि तथा पशु विज्ञानका विभिन्न विधामा आधारित अनुसन्धान प्रस्तुत गरेका थिए।

IMG-20260711-WA0006

विद्यार्थीहरूले बाली विज्ञान, बागवानी, माटो विज्ञान, कृषि अर्थशास्त्र, कृषि प्रसार, पशुपालन, पशु स्वास्थ्य तथा प्राकृतिक स्रोत व्यवस्थापन लगायतका क्षेत्रमा गरेका अनुसन्धानको मौखिक प्रस्तुति दिएका थिए।

आयोजकका अनुसार Symposium ले विद्यार्थीहरूलाई आफ्ना अनुसन्धान सार्वजनिक रूपमा प्रस्तुत गर्ने, वैज्ञानिक छलफलमा सहभागी हुने तथा अनुसन्धान र नवप्रवर्तनप्रति अभिप्रेरित हुने महत्वपूर्ण अवसर प्रदान गरेको छ। अनुभवात्मक सिकाइ, अनुसन्धान संस्कृति र उद्यमशील सोचको प्रवर्द्धनमार्फत दिगो कृषि विकासका लागि सक्षम जनशक्ति उत्पादनमा कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको समापनमा उत्कृष्ट अनुसन्धान प्रस्तुति गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै सहभागी विद्यार्थी, स्वयंसेवक तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति क्याम्पस प्रमुख निराजन भण्डारीले आभार व्यक्त गर्नुभएको थियो।

आयोजकका अनुसार तेस्रो स्नातक LEE Symposium ले विद्यार्थी अनुसन्धानलाई प्रोत्साहन गर्दै शैक्षिक उत्कृष्टता, वैज्ञानिक सोच र दिगो कृषि विकासप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।