इटहरी । मौसम अनुकुल हुँदा कोशी प्रदेशमा एक साताको अवधिमा २३ प्रतिशत रोपाइँ भएको छ । मनसुन सक्रिय भई पर्याप्त पानी परेका कारण रोपाइँमा सुधार आएको हो ।
कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोशी प्रदेशमा एक साताको अवधिमा धान रोपाइँको क्षेत्रफलमा झण्डै २३ प्रतिशतले वृद्धि भएको पाइएको हो। निर्देशनालयको तेस्रो साता प्रकाशित जानकारी अनुसार प्रदेशमा ३१।९४ प्रतिशत मात्र रोपाइँ भएको थियो । तर, वर्षामा सुधार आएसँगै असार अन्तिम सातासम्म ५४।८६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । जवकि अघिल्लो वर्षको समान अवधिमा कोशी प्रदेशमा ४१ प्रतिशत मात्र रोपाइँ भएको थियो । कोशी प्रदेशमा धान खेतीयोग्य कुल २ लाख ७६ हजार ४५६ हेक्टर जमिनमध्ये हालसम्म एक लाख ५१ हजार ६१९ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । यो समय धान रोपाइँको मुख्य समय भएकाले पनि खेतमा किसानको चटारो बढेको देखिन्छ ।
भौगोलिक अवस्थितिका आधारमा हेर्दा कोशीको मध्य पहाडी भेगमा सबैभन्दा बढी ६१।०९ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै, तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा ५३।६६ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ भने उच्च पहाडी जिल्लाहरूमा ४२।५१ प्रतिशत प्रगति भएको छ । जिल्लागत रूपमा हेर्दा सोलुखुम्बुमा ७५ प्रतिशत, खोटाङमा ७५।३६ प्रतिशत र भोजपुरमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । तराईका जिल्लाहरूमध्ये झापामा ६१।८० प्रतिशत, मोरङमा ४६ प्रतिशत र सुनसरीमा ५२ प्रतिशत रोपाइँ सकिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो समय वर्षा नियमित भइरहेकाले आकाशे पानीको भरमा रहेका किसानलाई ठूलो राहत मिलेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष समयमै मनसुन सक्रिय भएकाले रोपाइँको दर पनि उत्साहजनक देखिएको छ । तर, रोपाइँको मुख्य समयमा किसानहरूले रासायनिक मलको चरम अभाव भने झेल्नुपरेको छ । विशेषगरी धान रोप्ने बेला आधारभूत रूपमा चाहिने डीएपी मलको बजारमा हाहाकार छ । रोपाइँ सकेका किसानहरू अब हाल्नुपर्ने युरिया मलको खोजीमा भौतारिरहेका छन्, तर सरकारी डिपो र सहकारीहरूमा मलको मौज्दात छैन । दिनभरी लाइन लागेर १० किलो मल लिनुपर्ने बाध्यता किसानहरुको छ । बालीमा समयमा मल हाल्न नपाउँदा धानको उत्पादन घट्ने चिन्ता किसानहरुलाई थपिएको छ ।


