इटहरी। सशस्त्र प्रहरी बलले मोरङका विभिन्न सीमा नाकामा निगरानी कडा बनाउँदै भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १५ लाख रुपियाँ बराबरका सामान तथा सवारीसाधन बरामद गरेको छ। कारबाहीका क्रममा एक जनालाई पक्राउ गरी बरामद सामानसहित विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी सिटी सफारीमा ल्याइँदै गरेको करिब तीन लाख ५० हजार रुपियाँ बराबरको लत्ताकपडा बरामद गरेको हो। सोही टोलीले बिल–बिजकबिनै कुरियरमार्फत पठाउने तयारी अवस्थामा राखिएका करिब पाँच लाख ८० हजार २८० रुपियाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक सामग्रीसमेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। यस्तै, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका पाँच लाख ५२ हजार ४६० रुपियाँ बराबरका औषधि, कागती, स्कुटर र सिटी सफारी बरामद गरेको छ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गेहेन्द्रबहादुर भण्डारीका अनुसार सिटी सफारी तथा स्कुटरसहित बरामद गरिएका सामानको कुल मूल्य १४ लाख ८६ हजार ४८० रुपियाँ रहेको छ। बरामद सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको उहाँले जानकारी दिनुभयो। एसपी भण्डारीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध आयात–निर्यात नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको बताउनुभयो। चोरी–तस्करी नियन्त्रणका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरी कारबाहीलाई निरन्तरता दिइएको उहाँको भनाइ छ।