इटहरी । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पुष्पलालको सालिक रहेको स्थानमा माल्यार्पण तथा स्मृति कार्यक्रम सम्पन्न गरिएको छ।
पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति सुनसरीको आयोजनामा सम्पन्न कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको थियो। जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड गरिएको सालिक रहेको सोही स्थानमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कोशी प्रदेशसभा प्रमुख सचेतक रमेश कुमार बस्नेतले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका दूरदर्शी नेता भएको उल्लेख गर्दै उहाँले देखाएको विचार, सिद्धान्त र जनमुखी राजनीतिक मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। उहाँले लोकतन्त्र, सामाजिक न्याय र समृद्ध नेपालको निर्माणका लागि पुष्पलालको आदर्शलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।

साथै उहाँले पुष्पलालको सालिकमा भएको तोडफोड दुःखद घटना भएको उल्लेख गर्दै ऐतिहासिक व्यक्तित्व र राष्ट्रिय सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रम पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति सुनसरीका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरी, इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापा, कार्यपालिका सदस्य दिनेश रसाइली, गणेश खत्री, राम कोइराला, डेगराज फुयल, रञ्जु सिग्देललगायत विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरी सचिव दुःखीलाल चौधरीले बताउनुभयो।


