इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा ९ करोड ८८ लाख ६७ हजारभन्दा बढीको लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ ।
कृषकलाई बजारसँग प्रत्यक्ष जोड्ने, कृषि उत्पादनको उचित व्यवस्थापन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो। भारतीय दूतावासको ९५ प्रतिशत अनुदान सहयोग र गाउँपालिकाको ५ प्रतिशत लागत तथा भ्याट रकममा निर्माण हुन लागेको यस केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान प्रणाली, वर्गीकरण तथा प्राथमिक प्रशोधन सुविधा रहनेछन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार केन्द्र सञ्चालनमा आएपछि स्थानीय तरकारी तथा फलफूलको संकलन, संरक्षण र बिक्री वितरण थप सहज हुनेछ । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लामो समयको प्रयासपछि योजना कार्यान्वयनको चरणमा पुगेको बताउँदै यसलाई गाउँपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्र निर्माणपछि कृषकले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्नेछन् ।
यसबाट स्थानीय रोजगारी सिर्जना, युवा उद्यमशीलता प्रवद्र्धन र बसाइँसराइ न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षभित्रै सम्झौता सम्पन्न गरी काम सुरु गर्ने लक्ष्य राखिएको यस आयोजनाले टेम्केमैयुङलाई कृषि उत्पादन, भण्डारण र बजारीकरणको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।


