इटहरी ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।

सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो यस आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको कामले पछिल्लो समय तीव्रता पाइरहेको छ ।आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डमा पहिलो, दोस्रो र तेस्रो प्याकेजको समग्र भौतिक प्रगति ३७ दशमलव ७८ प्रतिशत पुगेको छ । निर्माण कार्यले पछिल्लो समय गति लिए पनि सम्झौता अवधि सकिन करिब छ महिना मात्र बाँकी रहेकाले निर्माण सम्झौता म्याद थप आवश्यक देखिएको छ ।पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म १६ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ । उहाँले मौसमले साथ दिए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको बताउनुभयो ।

पूर्वी खण्डमा इभरस्कोन–कालिका जेभीले स्तरोन्नतिको काम गरिरहेको छ । काँकडभिट्टा-सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिका लागि रु १० अर्ब छ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता भएको हो । निर्माण कार्य २०८० माघ १९ गतेदेखि सुरु भएको थियो भने २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।एसियाली विकास बैङ्कको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी रहेको उक्त योजना सम्पन्न भएपछि सहरी क्षेत्रमा चार लेनको सडक, बीचमा तीन मिटर चौडा डिभाइडर र दुवैतर्फ सर्भिस लेनसहित करिब ५० मिटर चौडाइको सडक संरचना निर्माण हुनेछ ।