इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक झडपपछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले निष्पक्ष छानबिन, कानुनी प्रक्रिया र सामाजिक सद्भाव कायम गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य बाहिर ल्याउन गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको हो। बैठकले कुनै पनि व्यक्ति वा समूहलाई कानुनभन्दा माथि नराखी निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ। बैठकले घटनापछि जिल्लाको शान्ति–सुरक्षा अवस्था थप जटिल बन्न नदिन सबै पक्ष जिम्मेवार र संयमित ढंगले प्रस्तुत हुने सहमति गरेको छ। स्थानीय तहमा शान्ति–सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई आवश्यक सहयोग गर्ने, अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहने तथा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता पनि सहभागीहरूले जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनाको वास्तविकता अनुसन्धानबाट मात्रै स्थापित हुने भएकाले कुनै पनि अफवाहमा विश्वास नगरी कानुनी प्रक्रियामा सहयोग गर्न सबै पक्षसँग आग्रह गरे। समुदायबीच आपसी विश्वास कायम राख्दै संयमता अपनाउन उनले विशेष अपिल समेत गरेका छन्। बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। देवानगञ्ज–३ कप्तानगन्जमा आइतबार राति बोलबम यात्राका क्रममा बजाइएको डिजेलाई लिएर सुरु भएको विवाद दुई समुदायबीच हिंसात्मक झडपमा परिणत भएको थियो।

झडपका क्रममा दुवै पक्षबाट ढुंगा, लाठी, चिर्पट र भालासहित आक्रमण हुनुका साथै सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो।अवस्था नियन्त्रणबाहिर गएपछि सशस्त्र प्रहरीले गोली चलाउँदा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। गोली लागेर अन्य नौ जना सर्वसाधारण पनि घाइते भएका छन्। घटनापछि गृहमन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरी घटनाको कारण, सुरक्षा व्यवस्थाको अवस्था, बल प्रयोगको परिस्थिति तथा समग्र घटनाक्रमबारे अनुसन्धान अघि बढाएको छ।

जिल्लास्थित सरोकारवाला पक्षले समितिको अनुसन्धानमा पूर्ण सहयोग गर्दै सत्यतथ्य सार्वजनिक गर्न र सामाजिक सद्भाव कायम राख्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।