इटहरी। ताप्लेजुङमा पछिल्लो एक वर्षको अवधिमा चौध लाख क्युविक फिट बढी गोलिया काठ निकासी भएको छ । एक वर्षको अवधि अर्थात गत आर्थिक वर्ष २०८२–८३ मा ताप्लेजुङबाट उक्त परिमाणमा गोलिया काठ निकासी भएको हो ।
डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार गत आर्थिक वर्षमा कुल १४ लाख २२ हजार क्युविक फिट गोलिया काठ निकासी भएको छ । जिल्लाका विभिन्न क्षेत्रका निजी वनबाट उक्त गोलिया काठ निकासी गरिएको यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी उत्तिस जातको काठ निकासी भएको छ । उत्तिसपछि मतालो, चिलाउने, कटुसलगायत प्रजातिका काठहरु निकासी गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
यता, गोलिया काठ निकासीबाट गत आवमा पाँच करोड ९१ हजार ९२ रुपियाँ राजस्व रकम सङ्कलन भएको छ । कुल रकममध्ये मूल्य अभिवृद्धि करबापत चार करोड २९ लाख ७१ हजार ४८ रुपियाँ र प्रदेश सेवा शुल्कबापत ७१ लाख २० हजार ४४ रुपियाँ राजस्व रकम सङ्कलन भएको छ ।


