इटहरी । दिवंगत आफन्तहरूको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत जोन सिक्सटिनले इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा भवन निर्माण सहयोग तथा भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा आश्रमका बालबालिकाको दैनिकी सहज बनाउन आर्थिक सहयोगसँगै मानवीय सेवाको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रमका क्रममा स्वर्गीय रणबहादुर कार्की तथा स्वर्गीय निरमाया कार्कीको स्मृतिमा कार्की परिवारले आश्रम भवन निर्माणका लागि  ५० हजार १ रुपैँया नगद सहयोग प्रदान गर्नुभएको थियो। त्यसैगरी स्वर्गीय पशुपतिनाथ ढकालको स्मृतिमा ढकाल परिवारले ५० हजार १ रुपैँया बराबरको चेक भवन निर्माण समितिलाई हस्तान्तरण गर्नुभएकोे थियो ।

प्राप्त रकम निर्माणाधीन आश्रम भवन सम्पन्न गर्न उपयोग गरिने जनाइएको छ । जोन चेयरपर्सन एमजेएफ रञ्जना शर्माको अध्यक्षता तथा फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आश्रममा आश्रित बालबालिकालाई एक छाक भोजन समेत गराइएको थियो। अध्यक्ष रञ्जना शर्माले समाजका असहाय तथा अभिभावक विहीन बालबालिकालाई सुरक्षित, सम्मानजनक र व्यवस्थित वातावरण उपलब्ध गराउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रमुख अतिथि रमेश खत्रीले लायन्स अभियानको मूल आधार नै मानव सेवा भएको उल्लेख गर्दै सेवा भनेको केवल आर्थिक सहयोग नभई समाज प्रतिको उत्तरदायित्व र मानवीय संवेदनाको अभिव्यक्ति भएको बताउनुभयो ।

भवन निर्माण समितिका अध्यक्ष राजेश श्रेष्ठले आश्रमको भवन निर्माण कार्य अन्तिम चरणतर्फ उन्मुख रहेको जानकारी दिँदै समुदाय, सामाजिक संस्था तथा सहयोगी परिवारहरूको साथले निर्माण कार्यलाई तीव्रता मिलेको बताउनुभयो । लायन्स र लियो क्लब अफ इटहरी स्मार्ट सिटी, लायन्स क्लब अफ इटहरी सिटिजन, लायन्स क्लब अफ इटहरी सुपर सिटी तथा लायन्स क्लब अफ इटहरी सुन्दर सिटीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा भाइस डिस्ट्रिक्ट गभर्नर उपकार मणि बराल, प्रोटोकल चीफ थानेश्वर ढकाल, आश्रमकी संस्थापक गीता गौतम, आश्रम अध्यक्ष राजेन्द्र श्रेष्ठ, भवन निर्माण समितिकी सचिव बालिका खड्का भट्टराई, राजेन्द्र केशरी घिमिरे लगायत विभिन्न लायन्स क्लबका पदाधिकारी, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।