इटहरी । टिभीएस मोटर कम्पनीले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर टिभीएस अर्बिटर सार्वजनिक गरेको छ।
सहरी यात्रालाई लक्षित गर्दै ल्याइएको अर्बिटरमा आधुनिक डिजाइनसँगै स्मार्ट प्रविधि, आराम र उपयोगितालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। सोमबार इटहरीको राजस्व ढाटस्थित पारस अटोमोबाइल्स, जगदम्बा मोटर्समा आयोजित एक कार्यक्रमबीच नयाँ विद्युतीय स्कुटर टिभीएस अर्बिटर सार्वजनिक गरिएको हो। टिभीएस अर्बिटरमा ३.१ किलोवाट ब्याट्री रहेको छ भने यसले १५८ किलोमिटर आईडीसी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
अर्बिटरको प्रमुख विशेषतामध्ये उद्योगमै पहिलो १४ इन्च फ्रन्ट ह्विल रहेको कम्पनीले जनाएको छ । यसले सहरी सडकमा ग्रिप, स्थिरता र ह्यान्डलिङलाई सहज बनाउने बताइएको छ । स्कुटरमा १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ८४५ मिलिमिटर लामो फ्ल्याट फर्म सिट रहेको छ । २९० मिलिमिटर स्ट्रेट–लाइन फुटबोर्डका कारण चालक तथा पछाडि बस्ने यात्रुलाई पर्याप्त लेग रुम उपलब्ध हुने बताइएको छ । टिभीएस अर्बिटरमा कनेक्टेड मोबाइल एप, कल तथा एस.एम.एस डिस्प्ले हुने कलर एलसीडी डिजिटल क्लस्टर, युएसबी २.० चार्जिङ, एलईडी हेडलाइट, एज–टु–एज कम्बिनेसन ल्याम्प लगायतका सुविधा छन्।
यसको एरोडाइनामिक डिजाइनले स्थिरता र ऊर्जा दक्षता सुधार गर्न सहयोग गर्ने जगदम्बा मोटर्स प्रा.लि का रिजनल मेनेजर अर्जुन खानालले बताउनुभयो । सुरक्षातर्फ स्कुटरमा जियोफेन्सिङ, टाइम फेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ, चोरी तथा टोइङ अलर्ट, दुर्घटना तथा स्कुटर ढलेको अलर्ट जस्ता कनेक्टेड फिचर उपलब्ध छन्।
यसमा रेन्ज तथा कार्यसम्पादन अनुसार प्रयोग गर्न सकिने इको र पावर मोड समेत रहेको कार्यक्रममा पारस अटोमोबाइल्स सेन्टरका प्रबन्ध निर्देशक लिला नाथ लुइँटेलले बताउनुभयो । टिभीएस अर्बिटर नेपालमा नियोन सनबस्र्ट, कस्मिक टाइटेनियम र मार्शियन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ । यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय तोकिएको छ ।


