विराटनगर । नेपालमा मत्स्यपालन क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि सरोकारवालाबीच समन्वय र सहकार्य बढाउने उद्देश्यले विराटनगरस्थित होटल स्वागतममा समन्वय बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) को आयोजना तथा USDA र Lutheran World Relief को सहकार्यमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषि शाखाका प्रतिनिधि, माछा उत्पादक, व्यवसायी, बिक्री–वितरणकर्ता तथा उपभोक्ता क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा कार्यकारी निर्देशक द्रव्यराज चौधरी ले सहभागीलाई स्वागत मन्तव्य सहित स्वागत गर्नुभएको थियो।
कार्यक्रममा नेपालमा माछापालक किसानको वर्तमान अवस्था, उत्पादन तथा बजारको चुनौती, माछाको बिक्री–वितरण प्रणाली, उपभोक्ताको माग तथा मत्स्यपालन क्षेत्रलाई थप व्यवस्थित र आधुनिक बनाउन स्थानीय तह तथा सम्बन्धित निकायले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो।

कार्यक्रममाLutheran World Relief को प्रतिनिधि संजीव बिश्वकर्मा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी, रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आसनारायण चौधरीलगायत कोशी प्रदेशका विभिन्न स्थानीय तह, संघसंस्था तथा सरोकारवाला हरुले नेपालमा मत्स्यपालन आधुनिककरण परियोजनाका विषयमा आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि पूर्व महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भगवती चौधरीले मत्स्यपालनलाई कृषिको महत्वपूर्ण व्यावसायिक क्षेत्रका रूपमा विकास गर्न किसान, स्थानीय तह, निजी क्षेत्र तथा सहयोगी संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
ग्रामीण महिला उत्सुकता विकास मञ्चकी अध्यक्ष राजकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले मत्स्यपालन क्षेत्रका समस्या पहिचान गर्दै उत्पादन वृद्धि, बजार व्यवस्थापन, प्रविधिको प्रयोग र किसानको आयआर्जन बढाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमले कोशी प्रदेशमा मत्स्यपालन क्षेत्रको विकासका लागि स्थानीय तह, उत्पादक, बजार तथा अन्य सरोकारवालाबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


