इटहरी । रोटरी क्लब अफ इटहरीले इटहरीका १० हजार बालबालिकाको आँखा परीक्षण गर्ने लक्ष्यसहित वर्षभरि आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने भएको छ।
क्लबले इटहरीका कम्तीमा २२ वटा विद्यालय तथा समुदायमा शिविर सञ्चालन गरी बालबालिकामा देखिने आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्ने तयारी गरेको छ। यसै क्रममा क्लबले १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै बिहिबार विराटनगर आँखा अस्पतालसँग सम्झौता गरेको छ। आर्थिक अभाव वा जानकारीको कमीका कारण सामान्य समस्या पनि जटिल बन्न सक्ने भएकाले यो अभियान सुरु गरिएको क्लबका अध्यक्ष चेतन धमलाले जानकारी दिनुभयो। अभियान अन्तर्गत भदौ ६ गतेदेखि प्रत्येक महिनाको पहिलो शनिबार इटहरी आँखा अस्पतालमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिनेछ ।
परीक्षणका क्रममा आवश्यकता अनुसार दृष्टि जाँच, ल्याब परीक्षण, औषधि, चस्मा तथा मोतियाबिन्दु र दृष्टि बाङ्गिने जस्ता समस्याको उपचार गरिनेछ। वर्षभरिमा १० हजारभन्दा बढी बालबालिकाको आँखा जाँच गरी उपचार आवश्यक देखिएका कम्तीमा एक सय जनालाई उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ। बालबालिकाको आँखा स्वास्थ्यबारे अभिभावकमा जनचेतना बढाउनु पनि अभियानको उद्देश्य रहेको छ। यो केवल संख्या पुरा गर्ने नभई बालबालिकालाई उपचारको पहुँचमा पु¥याउने दीर्घकालीन प्रयास भएको अस्पतालका व्यवस्थापक कुमार पृथुले बताउनुभयो।


