इटहरी । कोशी प्रदेशअन्तर्गत रहेका भूमि प्रशासन तथा नापी कार्यालयहरूको काम, सेवा प्रवाह तथा समसामयिक विषयमा समीक्षा गर्न आयोजना गरिएको समीक्षा गोष्ठी सम्पन्न भएको छ।
कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका ५२ वटा भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको गोष्ठीमा भूमि प्रशासन तथा नापी क्षेत्रका समस्या, सेवा प्रवाहमा देखिएका चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो। गोष्ठीको अध्यक्षता कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो भने आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुखहरूले कार्यालय सञ्चालनका क्रममा देखिएका समस्या, सेवाग्राहीलाई सेवा प्रदान गर्दा आइपर्ने व्यावहारिक कठिनाइ तथा कानुनी जटिलताबारे धारणा राखेका थिए । गोष्ठीमा कोशी प्रदेश भूमि व्यवस्थापन विधेयकको प्रारम्भिक मस्यौदाका विषयमा मन्त्रालयको तर्फबाट प्रस्तुतीकरण समेत गरिएको थियो। प्रस्तुतीकरण मार्फत भूमि व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्थाबारे छलफल गरिएको थियो। कार्यक्रममा कार्यालय प्रमुखहरूबीच कोशी प्रदेश भूमि व्यवस्थापन प्रस्तावित विधेयकका दफावार विषयमा समूहगत छलफल समेत भएको थियो।
छलफलबाट प्राप्त सुझाव तथा कार्यालयगत अनुभवलाई आगामी कानुनी व्यवस्थामा समेट्ने विषयमा जोड दिइएको थियो। गोष्ठीको समापन सत्रमा सहभागीहरूले भूमि प्रशासन र नापी सेवामा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार, सम्बन्धित मन्त्रालय तथा कार्यालयहरूबीच थप समन्वय आवश्यक रहेको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि मन्त्री इन्द्रमणि पराजुली, तथा प्रदेश सचिव कृष्णप्रसाद सापकोटाले सम्बोधन गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गरिएको थियो।

