इटहरी । सैनिक नागरिक सम्बन्ध विस्तार अभियान अन्तर्गत पूर्वी पृतना हाताभित्र सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्र पूर्वी नेपालका सर्पदंशपीडितका लागि भरोसाको केन्द्र बनेको छ ।
इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म १८ हजारभन्दा बढी सर्पदंशका बिरामीको उपचार गरी जीवन जोगाएको छ । केन्द्रको स्थापना २०६९ सालमा भएको केन्द्रले सर्पदंशका बिरामीलाई प्रभावकारी सेवा प्रदान गरेको केन्द्रका अध्यक्ष दिवस पोख्रेल बताउनुहुन्छ । उहाँका अनुसार सुनसरीसँगै मोरङ, धनकुटा, सप्तरी, उदयपुरलगायत भारतीय सीमावर्ती क्षेत्रबाट समेत सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रमा हालसम्म विषालु सर्पले डसेका एक हजार ६३४ जना र कम विषालु सर्पले डसेका १६ हजार ४४९ जना बिरामीको उपचार गरिएको केन्द्रको तथ्याङ्क छ । केही दिनअघि सर्पले डसेपछि उपचारका लागि सर्पदंश उपचार केन्द्र इटहरीमा पुगेका वराहक्षेत्र नगरपालिका–९ का २७ वर्षीय लालचन कविरथ उपचार केन्द्रमा समयमै पुगेकाले ज्यान जोगिएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सर्पले डसेका धेरै बिरामी उपचार गराइरहेका थिए । स्वास्थ्यकर्मीले राम्रोसँग उपचार गरिरहेको देखेपछि मेरो पनि डर कम भयो ।” सर्पले टोकेपछि समयमै उपचार केन्द्रमा पुग्न सके जीवन जोगाउन सकिने रहेछ ।
पूर्वी पृतना हेड क्वाटर सैनिक अस्पताल इटहरीका कमान्डन्ट प्राविधिक महासेनानी डा। अनिलकुमार सिंहको प्रत्यक्ष समन्वय तथा निर्देशनमा सैनिक स्वास्थ्य प्राविधिक सामुदायिक सर्पदंश उपचार केन्द्रमा परिचालन हुँदै आएका छन् । सैनिक स्वास्थ्य प्राविधिकले केन्द्रमा चौबिसै घण्टा उपचार सेवा प्रदान गर्दै आएका छन् । चौबिसै घण्टा स्वास्थ्यसेवा परिचालन हुने भएकाले सर्पले डसेका बिरामीलाई आवश्यक उपचार तत्काल उपलब्ध गराउन सहज भएको अध्यक्ष दिवस पोख्रेलले बताउनुभयो । सर्पदंशका बिरामीलाई समयमै उपचारमा ल्याउन सके ज्यान जोगाउन सकिने भएकाले केन्द्रले सर्प प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । विशेष गरी गर्मी र वर्षाको समयमा सर्पको गतिविधि बढ्ने भएकाले ग्रामीण तथा विकट बस्तीमा पुगेर सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि गर्नुपर्ने काम र गर्न नहुने कार्यबारे जानकारी गराउँदै आएको केन्द्रले जनाएको छ । सर्पदंश उपचार केन्द्रका उपाध्यक्ष राजु थापाका अनुसार सर्पले डसेका बिरामीलाई सकेसम्म छिटो स्वास्थ्य संस्थामा पु(याउनु पर्छ । सर्पले डसेपछि आत्तिएर घरमै बस्नुभन्दा तत्काल उपचारमा पुग्नुपर्ने उहाँ बताउनुहुन्छ ।
केन्द्रका अनुसार नेपालमा सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रमध्ये यहाँ उपचारका लागि आउने बिरामीको सङ्ख्या उच्च रहेको छ । सर्पदंशका बिरामीलाई तत्काल उपचार आवश्यक पर्ने भएकाले आसपासका स्वास्थ्य संस्थाबाट समेत गम्भीर अवस्थाका बिरामी यहाँ पठाउने गरिएको केन्द्रले जनाएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थाबाट समेत कतिपय बिरामी उपचारका लागि यस केन्द्रमा आउने गरेको बताइन्छ । केन्द्रले विषालु सर्पदंशको उपचारमा दुई हजार र अविषालु सर्पदंशको उपचारमा एक हजार पाँच सय शुल्क लिँदै आएको जनाएको छ । आर्थिक रूपमा विपन्न तथा शुल्क तिर्न नसक्ने बिरामीलाई निःशुल्क उपचारसमेत गरिँदै आएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।
अध्यक्ष पोख्रेलका अनुसार सुनसरी र मोरङका ग्रामीण तथा सर्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली परिचालन गरी जनचेतना कार्यव्रmम सञ्चालन गरिँदै आएको छ । कार्यक्रममा सर्पको व्यवहार, सर्प बढी सक्रिय हुने समय, विषालु र अविषालु सर्पबिचको फरक, सर्पले डसेपछि गर्नुपर्ने प्राथमिक उपचार तथा तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा जानकारी दिइँदै आएको बताइएको छ । सर्पदंशका बिरामीको चाप बढ्दै जाँदा उपचार केन्द्रलाई थप व्यवस्थित र स्तरोन्नति गर्न प्रदेश र केन्द्रीय सरकारको समेत सहयोग आवश्यक रहेको अध्यक्ष पोख्रेलले बताउनुभयो । उपचार कक्ष, आवश्यक उपकरण, औषधी, जनशक्ति तथा अन्य पूर्वाधार विस्तार गर्न सके पूर्वी नेपालका अझ धेरै बिरामीले सहज रूपमा सेवा पाउन सक्ने उहाँको भनाइ छ । नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटरका पृतनापति उपरथी शक्तिजङ्ग बस्नेतले सामुदायिक सर्पदंश उपचार केन्द्र अवलोकन गर्नुभएको छ । केन्द्रका प्रमुख संरक्षकसमेत रहेका नवनियुक्त पृतनापति बस्नेतले केन्द्रको समग्र अवस्था, उपचार सेवा तथा व्यवस्थापनबारे जानकारी लिनुका साथै संस्थाका पदाधिकारी र प्राविधिकसँग छलफल गर्नुभएको हो ।
अवलोकनका क्रममा केन्द्रका अध्यक्ष दिवस पोख्रेललगायत पदाधिकारीले केन्द्रबाट प्रदान हुँदै आएको सेवा, उपचारमा आउने बिरामीको चाप, आवश्यक जनशक्ति तथा पूर्वाधारका विषयमा जानकारी गराउनुभएको थियो । पृतनापति बस्नेतले सैनिक–नागरिक सम्बन्धलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित यस्ता सेवामूलक संस्थाको भूमिका महìवपूर्ण रहेको बताउँदै केन्द्रको सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


