सुन्दरहरैँचा / सिर्जनशील क्लबको आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ। “रक्तदान जीवनदान” भन्ने मूल सन्देशसहित आयोजना गर्न लागिएको कार्यक्रममा रक्तदान गरी मानवीय सेवामा योगदान गर्न सबैलाई आह्वान गरिएको छ।
क्लबले २०८३ साल साउन ९ गते शनिबार बिहान ८ः३० बजेदेखि १०ः०० बजेसम्म सिर्जनशील क्लब भवन सुन्दरहरैँचा–लोचनीमामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। रगत अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सिर्जनशील क्लबका अध्यक्ष एकराज पोखरेलले जानकारी दिनुभयो। उहाँले स्वस्थ तथा इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गर्नुभएको छ।
“एक थोपा रगतले कसैको सम्पूर्ण जीवन बचाउन सक्छ” भन्ने मान्यतासहित आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
अध्यक्ष पोखरेलले रक्तदानलाई मानवता र सामाजिक उत्तरदायित्वसँग जोड्दै बढीभन्दा बढी व्यक्तिलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।


