इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउने र सङ्खुवासभाको धर्मदेवी नगरपालिका–५ बुद्धचोकमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य जाँच तथा उपचार शिविरबाट १५६ जना लाभान्वित भएका छन् ।
घुमाउनेस्थित स्कुलडाँडा आधारभूत स्वास्थ्य चौकीमा आयोजित शिविरबाट ३१ जनाले सेवा लिएका छन् । शिविरको आयोजना प्रगतिशील कृषि तथा पशुपन्छीपालन कृषक समूह, घुमाउनेले गरेको हो । त्यस्तै, धर्मदेवी नगरपालिका–५ बुद्धचोक स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरबाट १२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविर धर्मदेवी नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको थियो । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, ल्याब टेस्ट तथा औषधि वितरण गरिएको थियो।
साथै पायल्स, फिस्टुला, फिसर, हाइड्रोसिल, गाँठागुठी लगायतका समस्याको बिना अप्रेसन विशेष छुटमा उपचार तथा विशेषज्ञ चिकित्सकीय परामर्श समेत उपलब्ध गराइएको थियो । दुवै स्थानमा सञ्चालन भएको शिविरमा बालबालिका, युवा–युवती तथा वृद्धवृद्धाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। शिविरको प्राविधिक सहयोग उज्यालो युथ नेटवर्क र उज्यालो गुप्तरोग स्वास्थ्य सेवा केन्द्र, उर्लाबारी मोरङले गरेको थियो ।
उज्यालो युथ नेटवर्क तथा स्वास्थ्य सेवा केन्द्रका अध्यक्ष विमल कार्कीले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य परीक्षण, उपचार र परामर्श उपलब्ध गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।


