इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ स्थित बसन्तपुर बजारमा विभिन्न व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानको संयुक्त बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा लालीगुराँस नगरपालिका, स्वास्थ्य कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, इलाका प्रहरी कार्यालय बसन्तपुर, स्थानीय तहका प्रतिनिधि, उद्योग वाणिज्य संघ तथा पत्रकार सहितको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा मूल्यसूची, साइनबोर्ड, प्यान तथा भ्याट दर्ता, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल प्रमाणपत्र, सामानको लेबल, खरिद तथा बिक्री बिल, खाद्य अनुज्ञापत्र लगायतका विषयमा जाँच गरिएको थियो । त्यस्तै, खाद्य सामग्रीको गुणस्तर, तौल तथा मूल्यसँगै मदिराजन्य र सूर्तीजन्य पदार्थको बिक्री–वितरण सम्बन्धी इजाजतपत्रको अवस्था समेत निरीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा विभिन्न पसलबाट कुरकुरे, बेसार, दाल, बिस्कुट, थुप्पा, कुकिज, औषधिजन्य सामग्री लगायत म्याद गुज्रिएका सामान फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कम्प्युटर अपरेटर गोविन्द लिम्बूका अनुसार अनुगमनका क्रममा २० हजार १०६ रुपैयाँ भन्दा बढी मूल्यका सामान जफत गरी नष्ट गरिएको छ । बरामद गरिएका सामग्री इलाका प्रहरी कार्यालय बसन्तपुर परिसरमा नष्ट गरिएको हो । अनुगमनपछि व्यवसायीलाई म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री नगर्न, मूल्यसूची राख्न, खरिद तथा बिक्री बिलको व्यवस्था गर्न र आवश्यक कागजात अद्यावधिक राख्न निर्देशन दिइएको छ । उद्योग वाणिज्य महासंघ बसन्तपुरका उपसचिव गोविन्द कार्कीले बजारलाई व्यवस्थित र उपभोक्ताको अधिकार सुरक्षित राख्न यस्ता अनुगमन कम्तीमा तीन–तीन महिनामा नियमित रूपमा हुनुपर्ने बताउनुभएको छ ।

उहाँका अनुसार अनुगमनले व्यवसायीलाई सचेत बनाउनुका साथै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न सहयोग पुग्नेछ । उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि गरिएको यस्तो बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने देखिन्छ ।