इटहरी । युवाहरुको सामाजिक संस्था टिम नेपोले जिल्ला कारागार कार्यालय धनकुटालाई १५० थान भन्दाबढी पुस्तक हस्तान्तरण गरेको छ।

पुस्तक परियोजना मार्फत कारागारमा रहेका कैदीबन्दीहरुका लागि संस्थाले पुस्तक हस्तान्तरण गरेको हो। संस्थाका जिल्ला प्रतिनिधि दिपिका दाहालले कारागार कार्यालय धनकुटाका सुचाना अधिकारी शुभास भण्डारीलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो। टिम नेपोले कारागार सुधार परियोजना अन्तर्गत नेपालमा रहेका विभिन्न कारागारहरुमा पुस्तकालय स्थापना गर्दै आएको र कैदीहरुको पुनस्र्थापना, पठन संस्कृतिको प्रवद्र्धन साथै कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको दाहालले बताउनु भयो।

कैदीहरु सजाय भोग्ने ठाउँ भएकाले केवल उनिहरु सजाय भोग्न मात्रै नभई सूचना, व्यवहारिक ज्ञान, सिपमूलक कार्यक्रम, सकारात्मक परिवर्तन र शिक्षाको अधिकार सुनिश्चिता दिने लक्ष्यका साथ पुस्तक हस्तान्तरण गरिएको बताइएको छ। टिम नेपोले नेपालका विभिन्न ठाउँमा सेवा मुलक काम गर्दै आएको जनाएको छ।

समाजकै एक हिस्सा भएकाले कारागारबाट सुरु भएको परिवर्तनले सिंगो समाजलाई नै सकारात्मक दिशातर्फ डोर्याउने अपेक्षा रहेको टिम नेपोले जनाएको छ। जिल्ला कारागार धनकुटामा हाल १ सय ७९ जना कैदिबन्दीहरु रहेका छन्। जसमा १ सय ७६ पुरुष र ३ जना महिला रहेका छन्।