इटहरी । लागूऔषधविरुद्ध चेतना फैलाउँदै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले तरहरा स्पोट्र्स क्लब इटहरी–२० को आयोजनामा शनिबार ‘तरहरा आर्म रेस्लिङ कम्पिटिसन’ सम्पन्न भएको छ । 

इटहरी–२० स्थित तरहरा साझा लाइनको रिजन होटल बाँसघारी कटेजमा  से नो टु ड्रग्स्, वि आर अगेन्स्ट ड्रग्स् भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले युवाहरूलाई कुलतबाट टाढा राख्दै स्वस्थ तथा सकारात्मक गतिविधिमा जोड्न सहयोग पुग्ने आयोजकको विश्वास छ। तरहरा स्पोट्र्स क्लबका अध्यक्ष विभश विष्ट (राजा)को अध्यक्षतामा भएको कार्यक्रममा धरान एकता समाजका संस्थापक संरक्षक तथा नेपाली कांग्रेसका युवा नेता सन्दीप श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, उद्धार सुधार केन्द्रका सञ्चालक खगेन्द्र क्षेत्री लगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा ६० केजी, ७० केजी, ८० केजी र ८० केजीभन्दा माथिका गरी चार विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ७ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। ६० केजीतर्फ मण्डिप राई प्रथम, करण सोरेन द्वितीय र सारण चौधरी तृतीय भए । ७० केजी तर्फ सुदीप तामाङ प्रथम, संयोग राउत द्वितीय र मोहित कुमार तृतीय भए।

त्यस्तै, ८० केजीतर्फ मौसम लिम्बू प्रथम, दुर्गा श्रेष्ठ द्वितीय र रोशन न्यौपाने तृतीय भए भने ८० केजीभन्दा माथिको विधामा प्रमिश बिष्ट प्रथम, पंकज शाह द्वितीय र युदिन लिम्बू तृतीय भए। प्रतियोगिताको  सिओसी  विजेता मौसम लिम्बू बनेका छन्। उनले थप ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। यस्तै, लकी ड्रमार्फत १० जना भाग्यशाली विजेतालाई एक्वा वेभको निःशुल्क स्विमिङ टिकट समेत प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा ५० हजार रुपैयाँभन्दा बढीको पुरस्कार राशि राखिएको थियो।