इटहरी । इटहरी उपमहानगरपालिका–५ मा सर्पदंशका कारण ८ वर्षीया बालिकाको मृत्यु भएपछि नेकपा (एमाले) इटहरी–५ वडा कमिटीले पत्रकार सम्मेलन गर्दै आपत्कालीन स्वास्थ्य सेवा र पूर्वाधार विस्तारको माग गरेको छ।

पत्रकार सम्मेलनमा वडा कमिटी अध्यक्ष देवी प्रसाद चापागाईंले सर्पदंश लगायतका आकस्मिक उपचारका लागि बालबालिका सहितका बिरामीलाई बारम्बार एक अस्पतालबाट अर्को अस्पताल रेफर गर्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले सर्पदंश उपचार केन्द्रहरूमा तत्काल आईसीयू  तथा भेन्टिलेटर सुविधा व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग जोडदार माग गर्नुभएको छ । त्यस्तै, सचिव खगेन्द्र कटवालले घटनाको निष्पक्ष छानबिन गरी उपचारका क्रममा कहाँ र कसरी कमजोरी भयो भन्ने सत्यतथ्य तत्काल सार्वजनिक गर्नुपर्ने बताउनुभयो।

समयमै उपचार नपाएर कसैले अकालमा ज्यान गुमाउन नपरोस् र भविष्यमा यस्ता घटना दोहोरिन नपाउन् भन्दै एमाले वडा कमिटीले स्थानीय तह, स्वास्थ्य संस्था, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायहरूबीच प्रभावकारी आपत्कालीन स्वास्थ्य समन्वय प्रणाली निर्माण गर्न जोडदार माग गरेको छ । वडा कमिटीले दिवङ्गत बालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।